बिर्तामोड । नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागद्वारा महिला पत्रकारहरुको क्षमता विकासको लागि तीन दिने मल्टिमिडिया तालिम शुरु भएको छ।
साँगुरीगढी गाउँपालिका धनकुटा थुम्कीको भिलेज रिसोर्टमा फागुन २८ देखी ३० गतेसम्म संचालन हुने तिनदिने तालिमको उद्धघाटन पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीला वल्लभ घिमिरेले गरेका छन्। उनले बँदलिदो परिवेशमा पत्रकारिता क्षेत्र चुनौतिपूर्ण बन्दै गएको बताउँदै संचारकर्मी महिलाहरु सूचना प्रविधिमैत्री हुनुपर्ने बताए। उनले यस तालिममा सिकेका कुरालालाई महिला पत्रकारहरूले व्यवहारमा लागु गर्न पनि सुझाव दिए।

यसैगरी उद्धघाटन कार्यक्रमका विशेष अतिथि साँगुरिगढी गाउँपालिकाका प्रमुख जितेन्द्र रुम्दाली राईले अहिलेको युग भनेको प्रविधीको युग भएकाले आफुले सिकेका कुराहरुलाई भेडेटारको पर्यटन क्षेत्रको विकासमा पनि प्रयोग गर्न आग्रह गरे। त्यस्तै पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य निलिफा सुब्बाले पनि तालिमले पत्रकार महिलाहरुलाई प्रविधी मैत्री बनाउन थप सहयोग मिल्ने बताईन् ।
महासंघ कोशी प्रदेशका महिला उपाध्यक्ष हिमा चेम्जोङको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रमलाई महासचिव विवेक गौतमले संचालन गरेका थिए। पत्रकार महिलाहरुलाई प्रविधीमैत्री बनाउने उद्देश्यले आयोजित यस तालिममा रजनीश भण्डारीले सहजीकरण गरेका छन् भने संयोजनको भूमिकामा पत्रकार देवेन्द्र कार्की रहेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा आयोजित यस तालिममा कोशी प्रदेशका ३० जना पत्रकार महिलाहरुको सहभागिता रहेको बताइएको छ ।

































































































