भद्रपुर २४ फागुन । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर झापाको भद्रपुर ७ स्थित डाँफे चोकमा ज्येष्ठ माता र एक असल बुहारीलाई सम्मान गरिएको छ । बर्ष २०७९ सालकी एक जना असल बुहारी सहित २ जनालाई सम्मान गरिएको छ ।
चन्द्रगढी समाज सेवाद्वारा स्थानीय पातलकाली भगवती मन्दिर परिषरमा बुधबार आयोजित कार्यक्रमका बीच स्थानीय ८८ बर्षिया माता कमलामाया बस्नेत र भद्रपुर ९ निवासी सञ्जु चौम्लागाईलाई २०७९ सालकी असल बुहारीको रुपमा सम्मान गरिएको हो ।
सम्मानितलाई कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी निवर्तमान उप प्रमुख तथा सामाजिक व्यक्ति चन्द्रमाया श्रेष्ठले दोसल्ला ओडाउनुका साथै प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेकी थिइन् ।
सम्मानपछि प्रमुख अतिथि श्रेष्ठले समाजमा महिला माथि हुने गरेको विभेदको अन्त्य गर्नुपर्ने बताउदै २००७ साल देखि मुलुकमा भएका परिवर्तनकारी आन्दोलनमा महिलाहरुको उल्लेखनीय भूमिका रहेको बताइन् ।
श्रेष्ठले संविधानमा उल्लेख भए बमोजिम आमाको नामबाट प्राप्त हुने नागरिकता, लगायतका मौलिक हकहरुको कार्यन्वयन नभएको भन्दै समानतामुलक समाज निर्माण गर्न सबै महिलाहरु एकता बद्ध भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीवन लम्साल, सन्जु चौम्लागाई, अधिवक्ता सन्जु रेग्मी , दिलकुमार राई लगायतले मन्तव्य राखेका थिए ।
अध्यक्ष अधिकारीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको स्वागत सचिव दिपबहादुर राउत र सञ्चालन उपाध्यक्ष देवीमाया अधिकारीले गरेकी थिइन् । कार्यक्रममा समाज सेवी शिवकुमार राजभण्डारी लगायतका स्थानीय महिलाहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
असल बुहारी र ज्येष्ठ मातालाई सम्मान

































































































