भगवती ढुङ्गेल
‘छ सुन्दरता आज म संग र ‘म’ म रहेको छु
कैयौ समय नसकी फुल्न आफै झरेको छु
हासें हसाए परिवार सारा आफन्तैहरु पनी
सासै चलेर पनी भिडमा हरपल मरेको छु’
संसारकै महत्वपूर्ण प्राकृतिक श्रृजनाको नाम हो नारी, चाहे धार्मिक गतिबिधीमा हुन या पारिवारिक, ब्यवहारिक या राजनीतिक क्षेत्रमा हुन आफुलाई हरेक परिवेसमा पनि शसक्त भूमिकामा नै प्रस्तुत गर्न सकेको पाइन्छ । जसको कदर यस युगमा कुनै पनि स्थिती, परिस्थितीमा पाइएको छैन । जसको कारण संसारको सृजनामा महत्वपूर्ण स्थान राख्ने नारी सम्मानको उचाईलाई झुक्न बाध्य बनाउन सक्छ तर प्रकृतीको सुन्दर रचनासंग युद्ध गरेर आज जितको हर्षबढाई गर्जेको छ समाजमा । अमानविय ब्यवहार, संस्कार बिरोधी समाजको बृद्धी भैरहेको छ । जबसम्म नारी शब्दको अर्थ र भावना बुज्ने शिक्षा प्राप्त गर्न सकिदैन तबसम्म घटनाक्रमहरु दोहोरिरहन्छन् । नारित्वलाई कुल्चने मानसिकता बोकेर पद र आशन÷शासनको खोजले समाज र ब्यक्ती ठगी गर्ने निरंकुश प्रकृया निक्कै अग्ररुपले पछिल्लो समयमा मौलाएको छ । यस्ता बिषयमा नारी हस्ताक्षरहरुले कलम चलाउनु पर्छ भन्ने पनि मलाई लागेको छ । आफू पनि नबिग्रौ अरुलाई नि नबिगारौ भन्ने सोचको विकास गर्न जरुरी देखिएको छ ।
समाजमा भागबण्डाको सहभागितामा कसैको सफलतामा उनीहरुकै इशारा र सोच अनुसार नै नारी नेतृत्व चलेको छ भन्दा फरक नपर्ला । आजका कर्मशिल र चेतनशिल नारीहरु पनि पद र प्रतिष्ठाका लागी सम्पूर्ण नारीहरुका भावनाको हत्या गर्न पछि नपरेको यस परिवेशमा सहभागिता बढाउन, कोटा पुर्याउनकै लागि प्रयोगमा रहेको, नाम र नारा बनेको बनेकोछ । कुनै पनि सभामा होस या घरायसी ब्यवहारिक सहभागिताका अवसरमा हाम्रो धार्मिक सामाजिक निरंकुशता या पुरुषत्व गिर्ने पुरुषको त्रसित मनले सम्मानजनक सहभागिता र सम्बोधन गर्ने या आफ्ना कुरा राख्न सक्ने ठहर गर्न सकेको पाइन्न ।
हरेक कार्यक्रमको अग्रपंक्तिमा आज पनि दुई प्रतिशत देखी पाँच प्रतिशत दुःखले सहभागि गराइएको हुन्छ र बिचार ब्यक्त गर्ने अवसर अन्तिममा नभए समयको अभावको जानकारी गराउदै मनोबल गिराउने कार्य तिब्र छ, यो पनि अपमान यानिकी भावनात्मक बलात्कार हैन र ? प्रश्न गर्न मन लाग्छ । हिजोको समाजमा मर्यादा, जिम्मेवारी र कर्तब्यसंग भिन्न जिवनयापन गर्ने नारीहरु आज घरै भित्र पनि सुरक्षित छैनन । झनै संगार तोडेर बाहिर निस्किएकाहरुको त निक्कै कठिन छ जिवन यापन । त्यसमा पनि एकल नारीहरुलाई अझ बढी चुनौति छ । पल–पल अपमानित गर्छ आजको परिस्थितीले प्रकृतीको सृृजनाको अपमान नै आजको समाजको बिनास झै लाग्छ,।
जन्मकै दिनबाट चुनौति हत्केलामा मुट्ठी पारेर निस्किएका चेलीहरु त्यसै समयबाट सुरक्षाको चित्कार ओकल्न नसकेर इज्जतको बन्धनमा बाधिएर हरेक भित्ता, पाखा पखेरी, करेसा र गल्लीहरुमा खाली खुट्टा बेतलवी कामदारको भूमिका निर्वाह गर्दै सामाजिक गतिबिधीमा संलग्न हुन पनि बन्चित रहनु परेको छ आजका दिनमा पनि । संघर्षसंगै सहभागिताको पनि चर्को आवाजको आवश्यकता खड्किएको छ ।
कला र संस्कृती प्रेमी नेपाली हामी जसमा अझ बढी नारीहरु संगीत र कलाका पारखी हुन्छन । मेलापातमा गुनगुनाउनु, बिना मसी आफ्ना कथा कोर्नु, प्रकृती र परिवारको सुन्दर चित्र कोर्नु एक नारीको कला हो । जस्को सम्मानमा निर्धक्क एक पुरुष सहभागी रहेर सहयोगी बन्न कहिल्यै सक्दैन । मिठो स्वरकी धनी एक गित प्रस्तुत गर्न सक्छिन, सुमधुर गजल बाचन गर्न सक्छिन, राम्रा राम्रा मिठा मिठा कविता बाचन गर्न पनि सक्छिन् । तर, गरिमामय सभामा आशन ग्रहण गर्न भने सक्दिनन । पुरुषका बिचमा लाम लागेर बस्न सक्दिनन् किनकी गराउन सक्ने मानव मन छैनन । कतै, योग्य ठानिएको छैन । अझै, सुन्दर र प्रसन्न मुद्रामा सजिएर हरेक कार्यक्रमको सोभा बढाउने, अग्र भागका मान्छेलाई उच्च बनाउने समर्थनमा संधै ताली बजाउने नारी नजरबाटै पनि हरपल बलात्कृत भएको महशुस गरिरहनु परेकै छ । एक पुरुषका साथ उभिएर दुई मिनट कुराकानी गर्न डराई डराई चारै तिर हेर्न बिवश पारिएको छ.। केही गर्छु भनेर अघि आएका नारीहरुको मनोबल गिराउन, असफल बनाउन लागी पर्ने आजको समाजले कस्तो शिक्षाको खेती गर्ला..? प्रश्नै प्रश्नको खात छ नारी मन भरी ।
नारीको गाजल, कम्मर, रुप, केश, चालको बर्णन गर्दै कलम चलाएर स्टेजमा गुनगुनाउदै आफ्नो परिचय स्थापित गर्ने महापुरुषहरुलाई झिनो प्रश्न छ मेरो –संसारमा नारीहरुले के मात्र गरेका छैनन .?? तर हाम्रो देशमा यती धेरै परिवर्तनका बावजुद पनि किन हामीले आफ्नो सोच र शिक्षा बदल्न सकेनौ ?
हरेक स्थानमा परिपक्क उभिएका शिक्षामा उच्च तह हासिल गर्ने नारीहरु अझै पनि सामाजिक, पारिवारिक र धार्मिक क्षेत्रमा असुरक्षित महसुस गर्न बाध्य रहेका छन । जिवनलाई सुन्दर बनाउन छर्ने उनीहरुको मुस्कान र प्रकृतीले दिएको आकर्षक शरीर नै उनीहरुको दुस्मन बनिरहेको पाइन्छ । हरेक क्षेत्रमा नारी शिक्षा, स्वास्थ्यलाई प्रोत्साहन गर्न लागि परेको हाम्रो कानून र ब्यवस्थाले अबको दिनमा सोही बिषयमा तालिम पुरुषहरुलाई दिनु पर्ने आवश्यकता खड्किएको छ, हरेक बर्गिय नारीहरु निर्धक्क भएर आफूलाई प्रस्तुत गर्न सक्ने वातावरण किन आफुले चाहेर पनि निर्माण गर्न सकिरहेका छैनन ? जबसम्म यो प्रबृत्तीको अन्त्य हुदैन तबसम्म समस्याले बाक्लै घटनाहरुको परिकल्पना गर्न पनि छोड्न सक्दैन भन्ने लाग्छ ।
हरेक घरको संघारभित्र र बाहिर असुरक्षित रहेको महसुस गरेर भारी मन बोकेर दौडमा निस्कने बहादुर छोरीहरुलाई आफु सुरक्षित भएको अनुभुती हुन सके यस देशको भविष्य पनि निक्कै बलियो बन्ने कुरामा दुविधा छैन, सोच्नुस् जुन घरमा नारी सुखी र खुसी हुन्छिन त्यहाँ कहिल्यै कलह हँुदैन यो त धार्मिक ग्रन्थहरुमा नै भनिएको छ जस्तो लाग्छ मलाई । जहाँ आफूले सहभागिता जनायो त्यही शोसित हुनुपर्ने बाध्यता पनि आज बिडम्बना बन्दै गएको छ समाजमा । कैयौले आफूप्रतिको भावनात्मक र शारीरिक बलात्कार समाजमा स्पस्ट राख्न नसक्ने कुन्ठित समुदाय र तोकिएको दायराका कारण मृत्युबरण पनि गर्नु परेकोछ । कतिलाई मारिन्छ कति मर्छन तर कहिल्यै ओहदामा पुगेका नारीहरुले संबिधानगत कानून परिवर्तन गर्नका लागि ठोस पहल गरेको देखिएको छैन ।
त्यही हिंसामा परेकालाई संरक्षण गर्ने अनि आफ्नो राजनीति उचाई बढाउने नारीहरुले पनि संसोधनमा सहभागितामुलक आवाज उठाएको पाइदैन । यस्ले अर्को के कुरा स्पस्ट पारेको छ भने पुरुषबाट मात्र हैन यहाँ नारीबाट पनि नारीहरु पिडित छन, बलात्कृत छन, पुरुष त बिपरित पाटो हो । प्रकृतीले रचेको दुई धारहरु नारी–पुरुष । तर गलत शिक्षा गलत प्रयोग नै आजको अभिसाप बन्न पुगेको छ जस्तो लाग्छ । जब नारी हुन्न, पुरुषको आंगमा घाम लाग्दैन । उसको अनुहारमा खुसी छाउदैन, स्वस्थ र स्फुर्त पनि रहन सक्दैन भने दुःख किन दिने यो बुझ्नु जरुरी छ ।
बलात्कार धेरै खाले छन कस्ले कुन तरिका अपनायो यती मात्र फरक हो । बलात्कार धेरै शिक्षित नारीले पुरुषकै पनी गरेको हुन सक्छ सक्दैन र ?? यो बदलिदो खानपिन र पश्चिमा प्रबृत्तीले एक्लो बनाउदै लगेको मानब जिबनमा कुनै पनि बेला कुनै पनि प्रकारका घटनाहरु घट्न सक्छन । यि सबैबाट बचाउन र न्याय नपाएका पीडित नर नारीहरुका लागी यस देशको कानूनले ब्यवस्था गर्न सक्नुपर्छ । अबको पहल हाम्रो त्यसतर्फ रहोस भन्दै सम्पूर्ण बिश्वभर रहेर आ–आफ्नो ठाउबाट आफ्नै सुरक्षामा संघर्ष गरिरहनु भएका नारीहरुलाई ११३ औं नारी दिवसको हार्दिक शुभकामना ।

































































































