झापा । सोमबार एमाले सत्ताबाट बाहिरिएसंगै १६ वटा मन्त्रालय खाली भएको छ । सोमबार एमाले सचिवालयको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अनुसार समर्थन फिर्ता लिंदै पदबाट राजीनामा दिएसंगै प्रधानमन्त्री दाहाल नेतृत्वमा रहने मन्त्रालयको संख्या तत्कालका लागि १६ पुगेको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सरकार छोडेसंगै प्रचण्डको जिम्मेवारीमा १६ वटा मन्त्रालय परेका हुन् । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्रालय पनि आफूसँग राखे । गृह मन्त्रालय नपाउने भएपछि लामिछाने नेतृत्वको (रास्वपा) का २ मन्त्री र १ राज्यमन्त्रीले सरकार छाडेका थिए । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा दिएका थिए । रास्वपाले छाडेको मन्त्रालय मन्त्रालय पनि प्रधानमन्त्री दाहाल आफैं मातहतमा राखेका थिए।
आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री थिए । राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर माओवादी केन्द्रसहित ८ राजनीतिक दलले कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने सहमति गरेपछि राजनीतिक परिस्थिति परिवर्तन भएको भन्दै राप्रपाबाट उप प्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले राजीनामा दिएका थिए ।
राप्रपाको भागमा परेको ऊर्जा, जलस्रोत तथा सिंचाइ, सहरी विकास, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पनि प्रधानमन्त्री दाहालमातहत नै छ । सोमबार एमालेका ८ मन्त्रीले राजीनामा दिँदै सरकारबाट बाहिरिएका छन् । एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री विमला राई पौड्याल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरि उप्रेती थिए ।
दाहाल नेतृत्वको सरकारमा अब उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायतमन्त्री नारायणकाजी श्रेष्ठ, सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मा, खानेपानी मन्त्री अब्दुल खान, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला सर्पाली ठकुरी बाँकी रहेका छन् ।
एमाले पनि सरकारबाट प्रधानमन्त्री मातहतमा १६ मन्त्रालय

































































































