बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्वरका उपाध्यक्ष चण्डीराज ढकालले बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई जोड्ने बताएका छन् ।
बिर्तामोड ओैद्धोगिक महोत्सव आयोजक समितिले मेलाको तयारीबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व अध्यक्ष ढकालले महोत्सवले प्रदेश १ मा उत्पादन हुने कृषि जन्य वस्तुहरुको प्रवद्र्धन गर्नुका साथै भारत , वंगलादेश र पाकिस्तानबाट आएका बस्तु सिधै नेपाली उपभोक्तासम्म पुग्ने सुनौलो अवसर भएको बताए ।
महोत्सवले आन्तरिक तथा बाह्रय पर्यटनको प्रर्वद्धन गर्नुका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने ढकालले विश्वास गरे । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव सफल बनाउन सबै पक्ष एक जुट हुनुपर्ने उहाँको भनाई छ ।
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव फगुन ५ देखि १५ गतेसम्म बिर्तामोड २ स्थित प्रभुराम चौक उत्तर खुल्ला मैदानमा सञ्चालन हुँदैछ ।हालसम्म एक सय ५० वटा स्टल बुक भइसकेको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा दुई सय स्टलहरु रहने बताइएको छ ।
महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ भने झण्डै ४५ करोड रुपैयाँ बरावरको आर्थिक कारोवार हुने महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए । महोत्सवलाई चार भागमा विभाजन गरिएको छ ।
प्रदर्शनी तथा विक्री कक्ष, सांस्कृतिक तथा साङ्गितिक क्षेत्र, वाल उद्यम तथा मनोरञ्जन क्षेत्र र खानपिन क्षेत्र छुट्याइएको महोत्सव मूल आयोजक समितिका सचिव कुशल खतिवडाले बताए ।
महोत्सवमा अन्तराष्ट्रिय औद्योगिक उपकरण , कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रर्दशनमा रहने बताइएको छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागीता रहने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए। महोत्सवलाई सभ्य र भब्य बनाउन सबै तयारी गरिएको बताइएको छ ।
प्रदेश १ को कृषि , पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत विकसित र सुगम स्थलका रुपमा रहेको बिर्तामोडमा शुरु हुन लागेको महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव तथा मेला अनुगमन समिति संयोजक अर्जुन कुमार मैनालीले बताए ।
महोत्सवको उद्घाटनमा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य रहने बताइएको छ । महोत्सव स्थलको मुख्य प्रवेशद्वार तथा स्टलहरु जर्मन प्रविधिमा निर्माण गरिने भएको छ भने मुख्य प्रायोजकका रुपमा एनसेल एक्सिएटा लिमिटेड रहने जनाइएको छ ।
यस अघि २०७५ सालमा सञ्चालन भएको महोत्सवको सफलतासंगै यस पटक पनि बिर्तामोड उद्योग बाणिज्य संघले अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सवको आयोजना गरेको हो ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकाल, महास।घका केन्द्रीय सदस्य उमेश डालमिया, प्रायोजक एनसेलका प्रदेश प्रमुख प्रज्वल अधिकारी, महोत्सवका व्यवस्थापक ललित सिम्खडा सहित उद्योगी व्यवसायीहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसैबीच महोत्सवमा सुरक्षा प्रवन्ध व्यवस्थित गर्ने सन्दर्भमा सोमवार साँझ सुरक्षा प्रमुखहरुसंग आयोजक समितिले अन्तरक्रिया गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी उपरीक्षक समेतको उपस्थितिमा भएको छलफलमा सुरक्षाको प्रत्याभूति र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
छलफलमा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुरज कार्की, सशस्त्र प्रहरी वेश क्याम्प शनिश्चरेका प्रहरी नायव उपरीक्षक उदय न्यौपाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख अशोक जवेगू सहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।
व्यापार-व्यवसायमा आर्थिक गतिविधि चलायमान बनाउन महाेत्सव, मुख्य प्रायाेजक एनसेल

































































































