झापा । करोडौं राजश्व बुझाउने व्यवसायीहरुको छाता संस्था बिर्तामोड उद्योग बाणिज्य संघलाई स्थानीय पालिकाले बजेट बिनियोजन नगरेको प्रति बिर्तामोडमा क्रियाशील दलले ध्यानाकर्षण भएको जनाएका छन् ।
आगामी फागुन ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापारिक महोत्सवलाई सम्पन्न गर्नका लागि राजनीतिक दलको भूमिका विषयमा केन्द्रीत छलफलका क्रममा पालिकाले बजेटमा बाणिज्य संघलाई सम्बोधन नै नगरेको खुलासा भएसंगै दलहरुले ध्यानाकर्षण भएको जनाएका हुन् ।
अन्तरक्रियाकै क्रममा सहभागी दलका प्रतिनिधिहरुले अन्यत्र मेला कसरी सञ्चालन भएका छन् ? स्थानीय सरकारको आर्थिक तथा अन्य कुरामा सहयोगको अवस्था कस्तो छ भन्ने कुराको जिज्ञासा मेला व्यवस्थापक ललित सिंखडालाई राखेपछि बजेटको विषयले प्रवेश पाएको हो ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महासंघका तर्फबाट मेला संयोजक सिंखडाले देशभरका मेलामा पालिकाले गरेको आर्थिक सहयोग बारेमा जानकारी गराएका थिए ।
सिंखडाको कुरा सुनेपछि सहभागी दलका प्रतिनिधिले बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक मेलामा पालिकाको सहयोगको अवस्थाबारे मेला आयोजकसंग प्रश्न तेस्र्याएका थिए ।
राजनीतिक दलका नगर नेतृत्व तथा प्रतिनिधिले प्रश्न उठाएपछि मेला संयोजक तथा बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र निवर्तमान अध्यक्ष कुमार भट्टराईले नगरपालिकाको बजेटबारे जानकारी गराएसंगै दलहरुले बजेटबारे चासो राखेका हुन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेटमा बिर्तामोड नगरपालिकाले बाणिज्य संघलाई सम्बोधन नै नगरेको खुलासा गर्दै निवर्तमान अध्यक्ष भट्टराईले कर्मचारीले स्थानीय तह सञ्चालन गर्दा पनि बजेटमा सम्बोधन गथ्र्यो, ध्रुव शिवाकोटी हुँदा पनि बजेट छुट्टयाइएको थियो, अतिथि सदनको माथिल्लो तला देखाउँदै भट्टराईले भने–‘यो बनाउँदा पनि २० लाख रुपैयाँ नगरपालिकाले दिएको थियो उनले थपे–‘यत्रो ट्याक्स तिर्छन् व्यापारी–व्यवसायीले तर, तिनीहरुकै संघलाई भने बजेटमा सम्बोधन नै छैन ।’
दलका नेताहरुको जिज्ञासाबारे मेला संयोजक न्यौपानेले भने–‘तपाईहरुले सोधेपछि भन्न बाध्य भएँ, यस अघिका हरेक बजेट छुट्याउने गरेको थियो तर, यो वर्ष बाणिज्य संघलाई रातो किताबमा बजेट सम्बोधन नै छैन ।’ उनले थपे–कर्मचारीको सरकार हुँदा पनि बजेट छुट्याएको रेकर्ड देखिन्छ ।’
आर्थिक मन्दीले सुस्ताएका व्यापारी–व्यवसायीलाई उत्प्रेरण भर्नका लागि आयोजित मेलामा सहभागी दलहरुले नगरपालिकाले पनि आर्थिक सहयोग गर्नुपर्ने धारणा राखे ।
बिर्तामोडको व्यापारीक कारोबार उच्च हुँदा स्थानीय सरकार र दलहरु नै सफल भएको सन्देश प्रवाह हुने उनीहरुको भनाई थियो ।
महोत्सव सम्बन्धी दलको प्रतिवद्धता सम्बन्धी आयोजित भेलामा नगरपालिकाले पनि आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिएका दलहरुका प्रतिनिधिले नगरपालिकाका नेतृत्वसंग प्रश्न गर्ने प्रतिवद्धता जनाए ।
वाणिज्य संघलाई बजेटमै बाइपास गरिनु नहुने भनाई राख्दै राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले पालिकामा आफूले प्रश्न उठाउने प्रतिवद्धता गर्दै “डेलिगेसन” जान आफूले नेतृत्व गर्ने बताइन् । उनले भनिन्–‘व्यक्ति टसल हुन सक्छ, यो संस्था हो, भोली जो पनि नेतृत्वमा आउन सक्छ, बजेटमा वाईपास गरिनु हुँदैन, उनले थपिन्–‘संस्थालाई व्यक्तिका रुपमा हेरिनु हुँदैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सदस्य अर्जुन उप्रेतीले को संग के टसल छ हामी जान्दैनौं, हामीले जान्ने नगरपालिका र बाणिज्य संघ हो, बजेट मै नसमेट्नुपर्ने कारण के रछ ? हामी प्रश्न गर्छौं ।’
दलका नेताहरुले अन्य ठाउँमा लगाइएका मेलामा स्थानीय पालिकाको सहयोगबारे जिज्ञासा राख्दा उद्योग बाणिज्य महासंघका मेला संयोजक सिंखडाले विराटनगर, लेटाङ, उर्लावारीलगायतका स्थानमा लागेका मेला र पालिकाको सहयोगबारे जानकारी गराएका थिए ।
नगरपालिकाले बाणिज्य संघलाई बजेटमा नसमेटेकोप्रति दलहरुको ध्यानाकर्षण

































































































