ज्यामिरगढी ६ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीति व्यक्तिगत लाभका लागि नभएर प्रशासनिक क्षेत्रको सुधार र राजनीतिक दलभित्रको बिकृति नियन्त्रण, समृद्ध नेपाल खुसी नेपाली निर्माणका लागि भएको बताएका छन् ।
काँग्रेस नेतृत्वको लोकतान्त्रिक बामगठबन्धनको झापा क्षेत्र नं. १ अन्तरगत मेचीनगर १५को ज्यामिरगढीमा वडास्तरिय निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै महामन्त्री शर्माले संघीय गणतन्त्र सुदृढ बनाउन पहिले सिंहदरवार सुधारेर नेतृत्वमा पुग्ने अनि दलका नेताहरूको आचरण सुधार गर्ने अभियानमा आफू लागि पर्ने बताएका हुन् ।

आम नागरिकको जनजीविकालाई असहज परिस्थितिबाट सहज बनाउन स–साना कामहरुमा सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिंदै भने–‘किसानलाई मल अभाव छ, रेल पानी जहाजले त्यो अभावलाई सम्बोधन गर्न सक्दैन, रेल र पानीजहाज पनि आवश्यक छ, तर पहिले किसानले मल, बिऊबिजन पाउने वातावरण बनाउनु पर्छ, अनि रेल र पानी जहाजका कुरा गरौला ।’
आफूहरु आश्वासनको नभइ इमान्दारिताको राजनीति गर्ने बताउँदै ‘नेपाली नागरिकालाई सुखी, खुसी, र समृद्धिको यात्रामा लैजान ढाँटेर, छलेर हुँदैन, गठबन्धन निर्वाचनका लागि मात्र नभएर राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि रहेको उल्लेख गरे ।
बाहुनडाँगीको तिरिङदेखि क्षेत्र नं. १ को सम्पूर्ण भूगोलमा रहेका हरेक समस्याबारे आफू जानकार रहेको उनले बताए । सांसद र मन्त्री बन्ने अरु सहज बाटा भएपनि जोखिम मोलेरै प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक होमिएको उल्लेख गर्दै पार्टी र देशको नेतृत्व गर्ने आकांक्षा व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका कार्यवाहक जिल्ला सभापति केशवराज पाण्डेले २०७० मा चिन्न नसकेका कारण झापा क्षेत्र नंं. १ का जनता पछि पर्नुपरेको बताउँदै भने–७० मै हामीले चिनेका थियौं भने अहिलेसम्ममा झापा १ ले प्रधानमन्त्री पाइसक्थ्यो, हामीले त्यो बेला चिन्न सकेनौं, अब चिनौं ।’ निर्वाचित भएपछि मत दिएर पठाएका सांसदबाट अभिभावकत्वमा कमी कमजोरी भए त्यसको जिम्मा आफूले लिने पाण्डेले प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा क्षेत्र नं.१ प्रदेश १ का उम्मेद्वार गोपाल तामाङले राजनीतिलाई कमाइखाने भाँडो नबनाउने जनताको शिर निहुरिने काम नगर्ने प्रतिवद्धता जनाए । कार्यक्रमलाई समानुपातिक उम्मेद्वार बालजित राई, ताराबीर कट्वाल लगायतले सम्बोधन गरेका थिए ।
शर्माले यसअघि क्षेत्र नं. १ भद्रपुरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले झापा १ को उन्नतिका लागि बाहुण्डागी चन्द्रगढी रिङरोड, चन्द्रगढी विमान स्थलको समयानुकुल स्तरीकरण, ऐतिहासिक चन्द्रगढको विकास जस्ता चल्दाबल्दा समस्याको उठान गर्दै नेपाली काँग्रेस युवाको काँधमा आइसकेकोले नेतृत्वका लागि तयारी समेत गरिरहेको स्पष्ट पारेका छन् ।
अबको विकास समयानुकुल हुनु पर्ने भन्दै शर्माले भौतिक पूर्वाधारको उन्नतिसित शिक्षा, स्वास्थ्य, रोजगारी र प्राविधिक पक्षको तीव्र उन्नति आवश्यक रहेको प्रष्ट पारेका छन् । असंभव सपना बाँडेर मात्र विकास नहुने भन्दै उनले जनजीविकाका आधारभूत पक्षको उपलब्धता जरूरी रहेको उल्लेख गरेका छन् ।
भद्रपुर ९ स्थित झापा क्षेत्र नं १ क को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन समारोहको सभापतित्व काँग्रेस भद्रपुर ९ का सभापति चेतनाथ भट्टराई तथा भद्रपुर १० प्रदेश सभा ख को उद्घाटन कार्यक्रमको सभापतित्व वडासभापति विष्णुप्रसाद काफ्लेले गरेका थिए भने कार्यक्रममा प्रत्यक्ष तर्फका प्रदेश सभाका उम्मेदवार गोपभल तामाङ र श्वामबीर लिम्बूले प्रतिबद्धता जायर गर्दै आफ्नो क्षेत्रको चौतर्फी विकासका लागि निरन्तर लागिरहने भन्दै मतदाताका भावना विपरितका कुनै काम नगर्ने समेत अठोट राखेका छन् ।
कार्यक्रममा नेकपा एसका संघीय संसदका समानुपातिक तर्फका उम्मेदवार तारा रूचाल, नेपाली काँग्रेसका प्रदेश सभाका समानुपातिक उम्मेदवार बालजीत राई तथा कालुराम मेचेले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन निसन्देह मतदान गर्न आग्रह समेत गरेका छन् ।

































































































