बिर्तामोड ४ कात्तिक । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूह झापाले आज एक कार्यक्रमको आयोजना गरी दाजुभाईलाई सामुहिक टिका र टोपी लगाएर दिपावली तथा छठपर्वको शुभकामना आदान प्रदान र दाजुभाई भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
महिला उद्यमी समूहकी कार्यवाहक अध्यक्ष यशोदा उप्रेती अध्यक्षताको अध्यक्षता तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित दाजुभाईलाई अविरको टिका तथा ढाका टोपी लगाइदिएका थिए ।

दाजुभाई र दिदीबहिनी बीचको समुधुर सम्बन्धको पवित्र पर्वका रुपमा रहेको तिहारको पूर्व सन्ध्यामा त्यही पवित्रता र हार्दिकता कायम रहिरहोस् भन्ने उद्देश्यले यसैवर्षदेखि दाजुभाई सम्मान कार्यक्रमको प्रारम्भ गरिएको बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले बताउनु भयो ।
सोही अवसरमा सामाजिक व्यक्तित्व राधा सुब्बा, रेनु बंशल र पत्रकार रेजिना गौतमलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी आफ्नो जीवन कालमा अहिलेसम्मकै सबैभन्दा नयाँ अनुभुति भएको बताउँदै सांस्कृतिक महत्वका उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिनुभयो । साथै महिला दिदी बहिनीहहरूले आत्म निर्भर हुन प्रेरणा थप्नुका साथै आर्थिक शसक्तिकरणमा समाजलाई डोहोर्याइरहेको बताउँदै बिर्तामोड नगरपालिकाले बार्षिक बजेटमा महिला उद्यमीलाई सहयोग गर्नेतर् बजेटको व्यवस्था गर्न आग्रह समेत गर्नुभयो ।

बिर्तामोड नगरपालिकाका उपमेयर तथा कार्यक्रमका विशिष्ट अतिथि नगेन्द्रप्रसाद संग्रौलाले सांस्कृतिक महत्व र समाज संरचनाका वास्तविकताहरूलाई पनि ध्यान दिएर कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रकाश शिवाकोटी, विवेककेशरी प्रसाईं, उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य उमेश डालमिया लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष कामना उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कमला पौडेलले गर्नुभएको थियो ।

































































































