बिर्तामोड कात्तिक । झापा क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी देवराज घिमिरेले आफ्नो कसैसंग पनि प्रतिष्पर्धा नहुने जिकिर गरेका छन् । नेकपा एमाले प्रचार विभागद्वारा बिर्तामोड आयोजित सम्पादकसंग उम्मेद्वार अन्तरक्रियामा बोल्दै एमाले उम्मेद्वार घिमिरेले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसका साझा उम्मेद्वार हरिकुमार रानालाई धानभित्रको सामाको संज्ञा दिंदै उनले भने–जसरी धान रोपेका ठाउँमा सामा मिसिन्छ, त्यो धान पाक्ने बेलामा कालो हुन थालेपछि मात्रै चिनिन्छ उनी त्यस्तै रछन् ।’
आफ्नै सहकर्मी प्रतिष्पर्धामा छन नी भन्ने पत्रकारको जिज्ञासामा घिमिरेले नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसका साझा उम्मेद्वार हरिकुमार रानालाई अवसरवादीको संज्ञा दिए । उनले भने–निति, सिद्धान्त र विचारबाट चलेको पार्टी हो, व्यक्तिका पछि एमालेका कार्यकर्ता लाग्दैनन् ।’
पत्रकारहरुले महाकाली सन्धीबारे एमालेको धारणका सन्दर्भमा राखेको जिज्ञासामा घिमिरेले महाकाली सन्धीप्रति एमालेभित्र कुनै पनि मतभेद नरहेको स्पष्ट पार्दै भने–‘महाकाली सन्धी गलत थिएन र छैन, एमाले भित्र कसैले व्यक्तिगत रुपमा त्यसको विरोध गरेको भए त्यो निजी बिचार हो । तर पार्टीको आधिकारिक धारणा भनेको महाकाली सन्धीले कसैलाई अहित गरेको छैन, त्या सही थियो र छ ।’ उनले थपे–त्यहाँ उत्पादित विद्युतबाट जति आम्दानी हुनुपर्ने हो त्यति आम्दानी हुन नसकेको कुरामा पार्टी अध्यक्षको असन्तुष्टी हो ।’
आफ्नो उम्मेद्वारीका विषयमा पार्टीभित्र कुनै असन्तुष्टि नरहेको घिमिरेले दावी गर्दै भने–‘कोही साथीहरु असन्तुष्ट हुनुहुन्न, सबैले मलाई नै हुनुपर्छ भनेका हुन्, कार्यकर्ता तहमा केही भएको हुन सक्छ, त्यो सबै दलमा केही न केही बिचलन छ ।’
कार्यक्रममा झापा क्षेत्र नं.–२ प्रदेशसभा १ का उम्मेद्वार एकराज कार्कीले आफूले प्रतिष्पर्धी नै नभेटेको जिकिर गरे । त्यस्तै क्षेत्र नं. २ प्रदेशसभा २ का उम्मेद्वार चिन्तन पाठकले अघिल्लो निर्वाचन अनुभवको निर्वाचन भएकोले यो पटकको निर्वाचनमा परिणाम निकाल्ने बताए ।
क्षेत्र नं. २ मा प्रतिष्पर्धा नै नहुने घिमिरेकाे दावी

































































































