बिर्तामोड १० भदौ । नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले देश, जनताको संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र अनुसार झापामा शुरु भएको ‘जनतासँग कांग्रेस अभियान’ लाई लक्षित गर्दै नेपाली कांग्रेस झापा क्षेत्र नं–२ ले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो एमालेले सरकारमा रहँदा गरेको भ्रष्टाचार र राज्य आतंकबाट मुलुकलाई मुक्त गराउन माओवादीसहितका दलहरुसँगको सहकार्यलाइ निरन्तरता दिनुपर्ने बताउनुभएको हो ।
गठबन्धन दलबीच सिट बाँडफाँडबारे छलफल जारी रहेको जानकारी दिदै उहाँले सिट बाँडफाँडपछि मात्रै उम्मेद्वारका विषयमा छलफल हुने बताउनुभयो । पार्टीभित्रको अन्तरविरोध विर्सिएर गठबन्धन दलका उम्मेद्वारहरुलाई जिताउन एकताबद्ध रुपमा अघि बढ्न कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।
स्थानीय तह निर्वाचनमा प्रदेश नं १ का ४७ वटा गाविसमा प्रमुख, ३५ वटामा उपाध्यक्ष, २३ वटा नगरपालिकामा नगरप्रमुख र ११ वटामा उपप्रमुखमा जित हासिल भएको बताउँदै सभापति थापाले ६ वटा जिल्लामा कांग्रेसकै नेतृत्वमा जिल्ला समन्वय समिति गठन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले एमाले नेतृत्वको सरकारले संसद विघटन गरेर संविधानलाई नै निकम्मा बनाएको बेला संवैधानिक संकटबाट देश बचाउन भूमिका निर्वाह गरेका गठबन्धन दलको चुनावी सहकार्य जरुरी रहेको बताउनुभयो ।
कांग्रेसले सरकारमा रहेका दलहरुबीच चुनावी तालमेल नगर्दा मुलुक बाम ध्रुविकरणतर्फ जानसक्ने एवं संसद र संविधानमाथि नै खतरा औंल्याउँदै गठबन्धनको निरन्तरता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
२ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न विस्तारित बैठकमा प्रदेश क का सभापति लक्ष्मी आचार्य, ख का सभापति किरण श्रेष्ठ, अर्जुनधारा नगर सभापति हेमराज खरेल, विर्तामोड नगर समितिका कार्यबाहक सभापति सूर्य कन्दङ्वा, महाधिवेशन प्रतिनिधि पुण्य ओझा लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा २ नम्बर क्षेत्रभित्रका २१ वटा वडाका वडा सभापतिहरुले आ–आफ्नो वडाको सांगठनिक बस्तुस्थितिबारे प्रकाश पार्नुभएको थियो भने सञ्चालन चन्द्र चुडालले गर्नुभएको थियो ।
संविधानको रक्षाका लागि गठबन्धन जोगाउन आवश्यक

































































































