भद्रपुर २५ बैशाख । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले माओवादी र माओवादीले काँग्रेसलाई विश्वास गर्नु हुँदैन भन्ने भ्रम छरेर निर्वाचन जित्ने दाउ हेरिरहेका एमाले नेता कार्यकर्ताको सपना पूरा नहुने समेत बताउनु भएको छ । स्थानीय तह निर्वाचन अन्र्तगत संयुक्त गठबन्धनद्वारा भद्रपुर ९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले भद्रपुर नगरको २०७४ को निर्वाचनको गणितको स्मरण गर्दै एमाले छिन्नविन्न भएपछि विगतको ३ हजार बढीमत नेकपा एस मार्फत गठबन्धनमै मिसिएकोले अत्याधिक मतका साथ भद्रपुरमा गठबन्धनको जित निश्चित भएको बताउनु भयो ।
स्थानीयदेखि केन्द्रसम्म पाँचवर्षका लागि दुईतिहाई बहुमत प्राप्त संसद पटक पटक विघटन गरेर जनताको मतको अपमान गरेको उल्लेख गर्दै शर्माले राजनीतिक बेइमानी प्रमाणित हुँदासमेत जनतासंग माफी माग्न नसक्ने अध्यक्ष रहेको एमालेले नेतृत्व लिने नैतिक धरातल नरहेको बताउनु भयो ।
शर्माले २०७४ को निर्वाचनमा एमाले नेतृत्वको कम्युनिष्टलाई भारी बहुमत दिएका नेपाली नागरिकले कोरोनाको विपतमा ओलीका कारण सिर्जना भएको कम्युनिष्टहरूकै अन्तर कलह हेरेर उपचार नपाइ मर्नु पर्ने अवस्था समेत भोगिसकेको भन्दै परिवर्तित व्यवस्था बचाउन गठबन्धन बाध्यात्मक परिस्थिति बनेर आएको भन्दै गठबन्धनको बचाउ गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य धर्मशीला चापागाईले नेकपा एमालेले कम्युनिस्ट चरित्र गुमाइसकेको बताउनु भयो । दलाल पूँजीवादी प्रवृत्ति बोकेको पार्टी हावी भएकोले एमाले कम्युनिष्ट हुनै नसक्ने टिप्पणी गर्नुभयो । कम्युनिस्ट पार्टीको मूलधार नेकपा माओवादी रहेकाले सवै सचेत कम्युनिष्ट एक भएर प्रतिगमनकारी ओलीवादको अन्त्य गर्नुपर्ने बताउनस भयोउहाँले गठबन्धन बाहिर मतदान गर्नु नहुने भन्दै माओवादी र काँग्रेस भनेर मतदाता भड्काउन एमालेका भिजिलान्ते प्रवेश गरेकाले सचेत हुन समेत आग्रह गर्नुभयो ।
नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद पुष्पराज पोखरेलले भद्रपुरमा सूर्य चिन्हमा कालो ग्रहण लागि सकेको बताउनु भयो । एमाले नामको पार्टीका उम्मेद्वार पराजित हुनेमा कुनै शंका नरहेको बताउदै पोखरेलले झापाली कम्युनिष्ट आन्दोलनको नेतृत्व आफ्नो दलले मात्र गर्न सक्ने भन्दै भद्रपुरमा गठबन्धनका सवै उम्मेदवार विजयी हुने आधार प्रसस्त रहेको उल्लेख गर्नुभयो ।
मेयर पदका प्रत्यासी गणेश पोखरेलले २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनले नेकपा एमालेलाई सुविधाजनक बहुमत सहित भद्रपुरको नेतृत्व दिएको भए पनि गर्व गर्न सक्ने एउटा पनि काम नगर सरकारले गर्न नसकेको भन्दै आफूले नेतृत्व पाए भद्रपुरको मुहार फेर्न इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी प्रर्वधन, कृषि विकास, ग्रामीण सडक स्तरीकरण, फजुल खर्च कटौती, विलासी नेतृत्वको अन्त्य, पिउने पानीको उपलब्धता सहज बनाउने लगायत आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उपमेयरका प्रत्यासी शिवकुमार राजभण्डारीले गठबन्धनको आवश्यकता भद्रपुरको उन्नति प्रगतिका लागि भएको बताउँदै शिक्षा, स्वास्थ्य, रोजगारी प्रवर्धनदेखि भौतिक उन्नतिसम्मका विकास आयोजना परिचालन गर्न एमाले नेतृत्वले पटक पटक अवसर गुमाएका कारण पनि आफ्नो उम्मेदवारी जरूरी रहेको प्रष्ट पार्नुभयो ।
भ्रम छरेर निर्वाचन जित्ने एमालेको सपना पूरा हुँदैन: महामन्त्री शर्मा

































































































