हामी सबैलाई यो विश्वास छ कि, हाम्रो जन्म बुबा र आमाको संयोग र सम्भोगक्रियाबाट भएको हो । यस भनाईमा २×२=४ हुन्छ भन्ने तथ्य जत्तिकै गणितीय सत्य मानिन्छ । यस तथ्यपरक परम्परालाई अलिकति बङ्ग्याउने ठाउँ भने यसमा पाइन्छ । त्यो के भने आफ्नो विवाहिता श्रीमान छँदाछँदै कतै आमाबाट व्यभिचार भएर अन्य पुरुषको संयोगबाट जन्मेको भए रगतको नाताले

बाबुसंग गणितीय तथ्य फरक पर्ने जस्तो देखिए पनि जन्मको प्रक्रियागत तथ्य त बाबु र आमाकै भूमिकामा निर्भर रहेको हुन्छ । हो यस्तै तथ्यपरक विश्लेषणकै आधारमा भन्ने हो भने हाम्रा कतिपय व्याक्तिगत औ सामाजिक व्यवहारमा पनि सत्य तथ्यलाई बङ्ग्याएर परिवन्दको सत्य सावित गर्ने परम्पराले प्रविधि र प्रबृतिको सम्बन्धमा प्रशस्तै बाङ्गा टिङ्गा तथ्यहरु तेर्सिन पुगेका छन्, जसले गर्दा यी विषयको गणितीय हिसाब ठ्याक्क मिल्न सकिरहेको छैन आजकाल ।
यस सन्दर्भमा प्रश्न उठ्न सक्छ कि प्रवृत्ति के हो र प्रविधि के हो त ? यस्को पनि गणितीय उत्तर नै चाहियो भनेर । यस अनुसार प्रविधि शब्दको अर्थ शब्दकोष अनुसार विज्ञानका कुरालाई व्यवहारमा प्रयोग गर्ने विधि, पद्धति वा तौर तरिका वा बैज्ञानिक विधि । त्यसै गरी प्रबृत्तिको अर्थ–कुनै कामप्रतिको झुकाव वा अकर्षण, बानी व्यहोराको आदत । यहाँ शब्दकोषले बताएको अर्थलाई नै गणितीय आधार मानौ किनकि यो सुत्रात्मक नभएर व्याख्यात्मक हो । कुनै पनि सर्वमान्य आधारबाट गरिएको ब्याख्या पनि गणितीय मानिने गरिन्छ । जस्तो कि ‘नेपालमा अहिले लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्दति लागु छ ।’ के यस भनाइलाई गणितीय मान्न सकिन्न र ? गणितीय नमानेमा तथ्य परक र यो पनि नमानेमा यथार्थपरक त कस्ले नमान्ला र । हो, यसरी नै व्यवहारिक प्रयोजनमा दिइने सूचनामूलक र प्रचलित कुरालाई गणितीय आधार मान्नु सान्दर्भिक नै देखिन आउँछ । यहाँ प्रविधि र प्रबृत्तिको व्यवहारिक तालमेल सम्बन्धमा समसामयिक गतिविधिमा देखा परेका केही पक्षहरुको गणितीय विश्लेषण गर्ने प्रयास नै यस लेखको उद्देश्य रहेको स्पष्ट पार्न चाहन्छु ।
ल विज्ञान र प्रविधिको अत्यधिक विकास भइरहेको वर्तमान सन्दर्भमा हाम्रो व्यवहारिक जीवनमा जति सहुलियत र सुविधा प्राप्त हुन सकेको छ त्यत्तिकै रुपमा सामाजिक जीवनमा अनेकौं प्रकारका जटिलतम समस्याहरु र शान्ति सुरक्षा एवं मानवीय मूल्य र मान्यता धराशायी बन्नुमा प्रमुख कारण प्रविधि र प्रवृत्तिको गणितीय समाधान नहुनु हो ।
ल प्रविधि शील्पसंग सम्बन्धित छ । यो स्वयंमा कुनै दोष छैन तर प्रविधिको उपभोग गर्ने कुरामा प्रबृत्तिको हात रहेको हुने हुनाले प्रबृत्ति गलत भएको खण्डमा प्रविधिको दुरुपयोग हुन जान्छ, भएको छ र हुँदै गइरहेको छ । उदाहरणको लागि मोवायल फोनको र फेसबुकको सुविधा हाम्रा दैनिक जीवनमा एकतर्फ वरदान सावित भएका छन् भने अर्कातर्फ धातक हतियार पनि सावित भएको छ । यस्को प्रमुख कारण पनि प्रबृत्ति दोषकै कारण मान्न सकिन्छ । वर्तमान समयमा यस्ता अनेकौं अन्य प्रविधिहरुको दुरुपयोगका कारण सामाजिक अपराधहरुको संख्यात्मक वृद्धि हुन पुगेको छर्लङ्ग देख्न र बुझ्न पाइएको छ । यसको मूल कारण पनि प्रविधिको गणितीय उपयोग नहुनाले नै हो ।
वर्तमान समयमा देखिन आएका सामाजिक विचलन, आर्थिक अनियमितता, राजनीतिक खिचातानी, शैक्षिक अन्यौलता, स्वास्थ्यको लापरवाहीपन देखिनुमा व्याक्तिगत, संस्थागत, समूहगत प्रबृत्तिको कारण हो र यस्ता हर क्षेत्रमा विचलन देखिनु जीवन र जगतको गणितीय भावनात्मक असमानताको दुरी बढ्दै जानु हो । यस सन्दर्र्भमा यहाँ समयसंग सम्बन्धित गणितीय तथ्यका आधारमा संक्षिप्त लेखा–जोखा प्रस्तुत गरिएको छ ।
आधुनिक विज्ञानले निर्धारण गरेको समयको न्यूनतम हिस्सा (प्रमाणिक समय) सेकेन्ड, मिनेट, घण्टा, दिन, बार हुँदै प्राचीन ऋषि महर्षिले निर्धारण गरेकै कालमानमा गएर मिलेको पाइन्छ । आधुनिक प्रमाणिक समयानुसार ६० सेकेन्ण्को १ मिनेट, ६० मिनेटको १ घण्टा, २४ घण्टाको १ दिन रात, ३० दिनको १ महिना र १२ महिनाको १ वर्ष भनी निर्धारण गरेर वर्षको गणनामा गएर टुङ्गिएको पाइन्छ भने पौराणिक समय निर्धारण यसरी गरिएको छ ः–
एक मात्रा लागेको ध्वनिको न्यूनतम उच्चारण समयलाई ‘निमेष’ भनिन्छ । जस्तै ‘क’ यस अक्षरको उच्चारण अवधि १ निमेष मानिन्छ । यसरी १५ निमेषको एक काष्ठा, तीस काष्ठाको १ कला हुन्छ भने १५ कलाको १ नाडी (घडी) हुन्छ यस्ता दुई नाडीको १ मुहुर्त हुन्छ भने ३० मुहुर्तको समयले १ दिन रात पूरा हुन्छ । यसरी आधुनिक प्रणालीको समय अनुसार ३० मुहुर्त भन्नाले ६० घडी मानिन्छ र ६० घडीको २४ घण्टा पुग्दछ । आधुनिक समयमा पनि पञ्चाङ्ग (पात्रो) मा उल्लेखित समय घडीमा आधारित भएको हुन्छ । यस अनुसार १ मिनेटमा साढे दुईपलाका हिसाबले २४ मिनेटको ६० पला हुन्छ र ६० पालको १ घडी हुनेहुँदा ६० घडीमा २४ घण्टा पुरा हुन्छ ।
स्मरण रहोस यो समयको मापन सूर्योदय अर्थात सूर्य गतिका आधारमा गरिएको हुन्छ । यो गणना अनुसार पनि ३० दिनको महिना र १२ महिना एकवर्ष भन्ने गरिन्छ । प्रायः मानिसमा यही १ वर्षका हिसाबले मात्र समय अवगत गर्ने गरेको पाइन्छ तर यसको परिधि बृहत्तर हुन्छ । हेरौं अझै ठूलो परिणामको समय राशिः विष्णु पुराणमा उल्लेख भए अनुसार–जसरी ७ बार, ६ ऋतु र १२ महिना घुमिरहन्छन् त्यसरी नै ४ युग ः सत्य, त्रेता, द्वापर र कलि पनि घुमिरहन्छन् । कलियुगको समयावधि ४,३२००० वर्ष यसको २ गुणा द्वापरको ८, ६४००० वर्ष र ३ गुणा त्रेताको १२, ९६००० वर्ष र ४ गुणा सत्यको १७२८००० वर्ष मान बताइएको छ । यसरी चार युगको पूर्ण अवधि ४३२०००० वर्ष हुन्छ यसलाई एक चतुर्युग भन्दछन् र यस्ता एक हजार चतुर्युग वित्दा सृष्टिकर्ता ब्रह््माजीको एकदिन मानिन्छ । यस्तै गणना अनुसार ब्रहमाजीको १ दिनमा हामी मनुष्यले गणना गर्ने वर्षहरको ४ अरब ३२ करोड वर्ष हुन्छ । जस्तै ४३, २०००० वर्ष १००० ४,३२००००००० वर्ष हुन आउँछ । यस हिसाबले ब्रहमाजीको समस्त आयु १०० वर्षको बताइएको छ । यस्ता सय वर्ष पुगेपछि ब्रहमाजीको मृत्यु हुन्छ । अर्थात प्राकृतिक प्रलय हुन्छ । सबै समयका अवयव र सृष्टिका सम्पूर्ण ज्ञान–विज्ञान भौतिक अवशेषहरुको अन्त्य भइ भवगान ब्रहमाजी परमतत्वमा लय हुन पुग्नु हुन्छ । यसरी ब्रहमाजीको आधा आयु वित्दा १ पराद्र्ध वित्दछ र जम्मा समयको नित्यतामा दुई पराद्र्ध ब्रहमाजीको समयावधि मानिन्छ । अहिले समयले दोस्रो पराद्र्ध टेकी सकेको छ अर्थात ब्रहमाजी ५० वर्ष नाघिसक्नु भएको छ । त्यसो भए अहिले हामी कुन समयको विन्दुमा छौं त ? बडा रोचक प्रश्न छ ।
अहिले पौराणिक कथन अनुसार हामी अठ्ठाइसौं कलियुग र वैवश्वत् मन्वन्त्तरमा छौं । यस अठ्ठाइसौं कलियुगको अहिले ५, ११९ वर्ष पाँचहजार एकसय उन्नाइस वर्षमा हिंडिरहेका छौं । बाँकी ४,२६८८१ वर्ष अझै कलियुगको समय रहने छ । मनुष्मृतिमा एउटा यस्तो भनाई छ –
कलोंदश सहस्राणि हरिस्त्यजन्ति मेदिनी,
तद्अर्धम् जान्हवीतोयं तद् अर्धम् ग्राम देवताः ।
अर्थ हो, कलिको दशहजार वर्ष विति सक्दा पृथ्वीमा दैवी शक्ति लोप हुनेछ अर्थात भगवानले पृथ्वी त्याग्नु हुने छ । त्यसको आधा वित्दा गंगा आदि तीर्थहरुको पुण्य समाप्त हुन्छ भने त्यसको आधा वित्दा ग्रामदेवी देवता पलायन भै सक्दछन् ।
अतः जसरी हिउँदको महिना चिसो हुन्छ त्यस्तै कलियुग पवनि कलह र पापाचारको बृद्धि भएर अघि बढ्छ अब यहाँ प्रविधिको विकास भयो भन्दैमा सुखका दिन आउलान भनेर आश नगरे हुन्छ । किनकि यहाँ कलि युगिन प्रवाह चलिरहेको छ । यो भनाई मैले समयको गणितीय पद्धति अनुसार उद्यृत गरेको हुँ । किनकि, यस युगको विशेषता भनेको प्रविधिको उच्चतम विकास हुने र प्रबृत्तिको निम्नतम ह््रास हुने हो । अतः प्रविधि र प्रबृत्तिको यही गणितीय तथ्य फरक पर्नाले वर्तमान समय कोलाहलमय वातावरणमा गुज्रन पुगिरहेको छ ।

































































































