बिर्तामोड । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल खरेलको राप्रपा नेपालका झापा जिल्ला अध्यक्ष हुनु भएको छ । यसअघि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहनु भएका खरेलले शनिबार आफू राप्रपाको साधारण सदस्य समेत नरहने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनु भएको थियो ।
आइतबार बिर्तामोडमा भएको भेलाले खरेलको नेतृत्वमा राप्रपा नेपालको झापा जिल्ला समिति गठन गरेको हो । जसको उपाध्यक्षहरुमा नारायण राजवंशी , देवेन्द्र कन्दङ्वा, सचिव देवीप्रसाद दंगाल र कोषाध्यक्ष कल्पना खत्री रहेका छन् ।
१७ सदस्यीय जिल्ला समितिका सदस्यहरुमा देवीरमण भट्टराई , चेतनाथ थापा , रोशनकुमार सिंह राजवंशी , पुकार दंगाललगायत रहेका छन् । त्यस्तै राप्रपा नेपालको केन्द्रीय सदस्यमा रोहित राजवंशी, सहायक महामन्त्रीमा देवीरमण भट्टराई चयन भएको जनाइएको छ ।
राप्रपामा रहेका जिम्मेवार नेताकार्यकर्ताहरु राप्रपा नेपालमा गएका हुन् । वरिष्ठ उपाध्यक्षसहित जिम्मेवारीमा भएका नेता कार्यकर्ताहरु राप्रपा नेपालमा गएसंगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अप्ठ्यारोमा परेका छन् । जिल्लामा आजै गठन भएको राप्रपा नेपालको उपाध्यक्ष रहेका राजवंशी यसअघि राप्रपा २ नं का क्षेत्रीय अध्यक्ष थिए । त्यस्तै कन्दङ्वा ३ नं पूर्व क्षेत्रीय अध्यक्ष , दंगाल निवर्तमान प्रदेश कमिटी सदस्य , खत्री पूर्व जिल्ला सदस्य , भट्टराई पूर्व केन्द्रीय सदस्य, रोहित राजवंशी पूर्व केन्द्रीय सदस्य रहेका थिए ।
झण्डै एकदशकसम्म पार्टीमा झापा उपाध्यक्षको जिम्मेवारी सम्हालेका खरेल अध्यक्ष लिङ्देनका विश्वासपात्र मानिन्थे । दमक नगरपालिकाका प्रमुखसमेत रहिसकेका राम थापाले लिङ्देनलाई साथ नदिएपछि गृहजिल्लामा लिङ्देनले सांगठनिक रूपमा क्षति ब्यहोरेका थिए । खरेल, दङ्गाल लगायतका नेताले कमल थापालाई साथ दिएपछि लिङ्देन अप्ठ्यारोमा परेका छन् ।
त्यस्तै झापामा लामो समय राप्रपाको सङ्गठन गरेका चेतनाथ थापाले समेत राप्रपा नेपालमा गएका छन् । चेतनाथ राप्रपाका पुराना सङ्गठक हुन् ।
राप्रपा नेपालको अध्यक्षमा खरेल, गृह जिल्लामै लिङ्देनलार्ई झड्का

































































































