झापा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी झापामा भोली (२०७८ चैत ६ गते) देखि म्यादी प्रहरी भर्ना प्रक्रिया प्रारम्भ हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै मुलुक निर्वाचनमय बन्न थालेको छ । निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्थाको तयारी स्वरुप चैत ६ गतेदेखि म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह््वान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । झापाका लागि २ हजार ७ सय ६४ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक पाठकले बताउनु भयो ।
म्यादी प्रहरीका लागि मासिक ३० हजार दुई सय ४० पारिश्रमिक निर्धारण गरिएको छ भने उनीहरुले ४० दिन काम गर्न पाउनेछन् । प्रत्येक म्यादी प्रहरीले पारिश्रमिकका साथै खाद्यान्नबापत सातहजार दुईसय, पोषाक र अन्य खर्च गर्ने गरी छ हजार, यातायात खर्चबापत एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
१५ चैतदेखि प्रारम्भ हुने छनौट प्रक्रियाको नतिजा २२ चैतसम्ममा प्रकाशन गरिने र २८ गतेदेखि तालिम दिइने बताइएको छ ।
झापामा चैत ६ देखि म्यादी प्रहरी भर्ना आह्वान
