काठमाडौं ९ पुस । घरायसी प्रयोजनका लागि आफ्नो घर भएकाहरुले मात्र विद्युतको मिटर लिन पाउने यसअघिको नियमबाट एककदम अघि बढ्दै अब भाडामा बस्नेले पनि विजुलीको छुट्टै मिटर लिन पाउने भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भाडामा बस्ने, अपार्टमेन्ट तथा कोलनीमा बस्नेले पनि प्राधिकरणबाट छुट्टै मिटर लिएर ग्राहक बन्न दिने व्यवस्था गरिएको बताउनु भएको छ ।
मन्त्रालयमा भएको आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुने बताउनु भयो । घरधनीले कोठा भाडामा बस्नेसग विजुली बालेवापत चर्को भाडा असुल्ने गरेको गुनासो व्यापक छ । घरधनीलाई तोकिएको न्युनतम् महसुल भन्दा बढी महसुल तिर्न परेपछि कोठामा बस्नेहरुले विद्युतीय सामग्री कम प्रयोग गर्ने गरेकाछन् ।
प्राधिकरणले तोकिएभन्दा बढी महसुल नलिन र नतिर्न आग्रह गरेपनि शहरी क्षेत्रमा बढी महसुल उठाउने प्रचलन हटेको छैन । अब प्राधिकरणले आफ्नो विनियमावलीमै यस खालको व्यवस्था गरेको हो ।
मन्त्री भुसालका अनुसार २० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई (सामुदायिक संस्था अन्तर्गतका ग्राहकसमेत) निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आइसकेको छ । अधिकतम् विद्युत खपत गर्ने ग्राहकको महसुल पनि प्रतियुनिट १ रुपैयाँ घटाएर रु ११ बनाइएको मन्त्री भूषालले बताउनु भयो ।
भाडामा बस्नेले पनि छुट्टै विद्युत मिटर लिन पाउने

































































































