विर्तामोड १२ मंसीर । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि भएको मतदानबाट सभापतिमा देउकुमार थेवे विजयी हुनुभएको छ ।
कनकाई नगरपालिका निवासी थेवेले आफ्ना प्रतिष्पर्धी मेचीनगर निवासी रामबहादुर कट्टेललाई २५० मत अन्तरले पछि पार्दै आगामी ५ वर्षे कार्यकालका लागि सभापतिमा विजय हुनुभएको हो ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसीर १० गते विर्तामोड नगरपालिकास्थित अनारमनी पब्लिक क्याम्पसमा सम्पन्न मतदानको मत गणना आज सम्पन्न भएसंगै कांग्रेसको आगामी नेतृत्वको टुङ्गो लागेको हो ।

त्यसैगरी दुई सभापतिका लागि मेचीनगर निवासी केशवराज पाण्डे र दमकका शेरबहादुर भट्टराई निर्वाचित भएका छन् । सर्वाधिक मत प्राप्त गरेका पाण्डेले १८८९ मत प्राप्त गर्नुभएको छ भने भट्टराईले १६७४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
उहाँहरुका प्रतिष्पर्धी प्रेम सम्बाहाम्फेले १४१५ र समशेर गिरीले १२२१ मत प्राप्त गरेका छन् । त्यस्तै दुई सचिवका लागि चार प्रतिष्पर्धी मध्ये सबैभन्दा बढी मत ल्याएर नविन विमली र कृष्ण हुमागाँई विजयी भएका छन् । विमलीले १८३८ मत प्राप्त गर्दा अर्का विजयी हुमागाँईले १६७६ मत प्राप्त गरेका छन् भने उनीहरुका प्रतिष्पर्धी विश्वदीप लिङ्देन र टुमलाल राजवंशीले क्रमश १४३१ र १३१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै दुई उपसचिवका लागि प्रतिष्पर्धी चारजना मध्ये कलमप्रसाद भण्डारी र कालेन्द्रप्रसाद सिंह राजवंशी विजयी भएका छन् । भण्डारीले १७६० मत प्राप्त गरे भने अर्का निर्वाचित राजवंशीले १७६५ मत प्राप्त गरेको जिल्ला निर्वाचन समिति सदस्य इन्दु पूर्वेलीले जानकारी दिनुभयो । उहाँहरुका प्रतिष्पर्धी उमाराम प्रसाईले १३३७ र पदम लिम्बू निङ्लेखुले १३४७ प्राप्त गरेका छन् ।
निर्वाचनमा थेवेले र कट्टेलको नेतृत्वमा दुई प्यानल निर्वाचनमा होमिएका थिए । मतदानबाट थेवे नेतृत्वको प्यानलै विजयी भएको हो ।

































































































