काठमाडौं १३ मंसीर । वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौता अनुसार सेवा सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताउनु भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुनः एकीकरणबारे मन्त्रालयमा सोमबार आयोजित छलफलमा मन्त्री श्रेष्ठले सम्झौता अनुसारको सेवा÷सुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने र त्यस्ता कम्पनीमा कामदार नपठाइने बताउनुभयो ।
कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकले आफूले काम गरेको समयको पाउन बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए । उनीहरुले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्किनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको गुनासो गरेका थिए ।
यस्तै गैरकानुनी बाटोबाट गएका घरेलु कामदारले न्यून तलबमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको गुनासो गरेका थिए । छलफलमा वैदेशिक रोजगारीबाट फर्किएका तथा आप्रवासी कामदारको पक्षमा काम गर्दै आएका संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहेको जानकारी गराउनु भयो।
वैदेशिक रोजगारीमा पारिश्रमिक नदिने कम्पनीलाई कालोसूचीमा राख्ने

































































































