कृष्ण हुमागाँईं २०३६ सालमा बहुदल र निर्दलबीच भएको जनमत संग्रहमा इलाम क्याम्पसका ने.वि.संघका विद्यार्थी कृष्ण धराबासी र लेखनाथ भट्टराईसँगै नेपाली कांग्रेसका जिल्ला सदस्य गणेश तामाङको प्रभावबाट पञ्चायती ब्यवस्था विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुभयो । जनमत संग्रहताका देखि नै बहुदलको पक्षमा पञ्चायत विरोधी भित्ते लेखन गर्दै आउनु भएका हुमागाईं २०५१ सालबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य बनेर राष्ट्रियता, प्रजातन्त्र र समाजवादी विचारधाराबाट प्रभावित कांग्रेसको राजनीतिमा संगठित रुपमा प्रवेश गर्नुभयो ।
२०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र प्राप्ति र प्रेस स्वतन्त्रताका लागि सक्रिय हुमागाँईले आफूमा भएको प्रजातान्त्रिक चेतलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्दै निरंकुश पञ्चायती शासनविरुद्धको ‘मिसन पत्रकारिता’ मा आफूलाई सक्रिय बनाउनुभयो । पत्रकारिताका माध्यमबाट आम जनमानसमा प्रजातान्त्रिक चेत भर्न सक्रिय रहनुभएका हुमागाईं अहिले पनि राष्ट्रियता, लोकतन्त्र, समाजवादका पक्षमा मिसन पत्रकारितामै हुनुहुन्छ । काँग्रेस पार्टीले सञ्चालन गरेका सबै आन्दोलनहरुमा निरन्तर अग्रमोर्चामा रहेर सक्रिय रहदै आउनु भएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन झापाको सचिव, सभापति, केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनिधि रहिसक्नु भएका उहाँ नेपाल पत्रकार महासंघको सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाली सक्नुभएको छ । नेपाल पत्रकार महासंघ झापाको सभापति हुँदा २०६२/२०६३ को जनआन्दोलनलाई सफल पार्न उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । तत्कालीन राजाको निरंकुशताविरुद्ध जनतालाई शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि भएको दोस्रो लोकतान्त्रिक आन्दोलनमा राजनीतिक दलहरु सडकमा निस्कन नसकिरहेको बेला पत्रकार महासंघको अगुवाईमा केन्द्रदेखि जिल्ला तहमा आन्दोलन भएको थियो । सो क्रममा उहाँ काठमाडौंमा भएको प्रदर्शनहरुमा पटक–पटक पक्राऊ परी हिरासतमा पर्नुभएको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्रको २०६१ माघ १९ गतेको निरंकुश शाही कदमपछि उक्त कदमका विरुद्ध फागुन ७ गते शनिश्चरेमा भएको प्रजातन्त्र दिवस मनाउने क्रममा तत्कालीन पार्टी सभापति सुधिरकुमार शिवाकोटीलाई उहाँकै घर बिर्तामोडबाट, सचिव उद्वव थापा र मजदुर नेता दीपक तामाङसँगै कप्तानबारीस्थित ज्ञानीराम बास्तोलाको चिया बगानबाट हुमागाईलाई तत्कालीन शाही नेपाली सेनाको युनिफाइड कमान्डले गोली फायर गर्दै पक्राऊ गरेपनि प्रहरीका एक अधिकृत (इन्सपेक्टर गोबिन्द अधिकारी) को चलाखीले सेनाको कब्जाबाट छुटकारा पाएपछि हुमागँई भारत निर्वासित हुनुपरेको थियो ।
भारत पानीटंकीको बतासीस्थित प्रजातन्त्र सेनानी मच्छिन्द्र केरुङको निवास र बागडोगरास्थित भारतीय गोर्खा सेनाको घरमा आश्रय लिएर कृष्ण हुमागाई र देउमान थेवेले नेपालमा शाही ‘कू’ विरुद्ध भएको आन्दोलनका सूचनाहरु संकलन गर्ने र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार सम्प्रेषण गर्ने, नेपालको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन तत्कालीन संगठन विभाग प्रमुख कृष्णप्रसाद सिटौलाको निर्देशनमा पर्चा, पम्प्लेट र प्रचार सामग्रीहरु तयार गरी झापाका विभिन्न नाकाहरुबाट नेपाल पठाउने कार्यमा सक्रिय हुनुभयो । संगठन विभाग प्रमुख, गणतन्त्रवादी नेता कृष्ण सिटौलासँगै भारत सिलगढीमा निर्वासित जीवन विताउँदै उत्तरपूर्वी भारतमा नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा त्यहाँको प्रेस, मानव अधिकारकर्मी र नागरिक समाजका विचमा समर्थन जुटाउने अभियानमा लाग्नुभएका हुमागाईलाई भारतीय प्रहरीले २०६१ साल चैतमा पक्राऊ गरेर जलपाइगुडीस्थित भक्तिनगर थानामा केहीदिन थुनामा राखेको थियो । यो कुरा थाहा पाएपछि नेता सिटौलाले भारतीय कांग्रेस आइका नेताहरुसँग समन्वय गरेर हुमागाँईलाई भारतीय थुनाबाट छुटाउनु भएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसको २०५६ सालमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्नुभएका हुमागाँई नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभयो । हाल नेपाली कांग्रेस झापाको जिल्ला कार्य समिति सदस्य र प्रचार विभाग प्रमुखमा पार्टीको जिम्मेवारीमा रहनुभएका हुमागाँई एक स्पष्टबक्ता, हक्की र क्रान्तिकारी स्वभावको हुनुहुन्छ । स्थानीयदेखि राष्ट्रियस्तरका दर्जनबढी सञ्चारमाध्यमहरुमा कार्यानुभव सम्हाल्दै समाजमा प्रजातान्त्रिक चेतना प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँले पार्टीको १४ औं महाधिवेशनमा झापा जिल्लाको सचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँलाई अत्याधिक मतले सचिव पदमा जिताउन ललेोकतन्त्रवादी पत्रकारहरुको संगन नेपाल प्रेस युनियन झापा हार्दिक अपिल गरेको छ ।।
लोकतान्त्रिक आन्दोलनका योद्धा हुमागाँई काँग्रेसको राजनीतिमा सक्रिय

































































































