केही समय अघि कचनकवल गाउँपालिकाको शिक्षा समितिले निर्णय गरेको १ विद्यालय १ संकायको निर्णय खारेज हुनुपर्छ भन्दै गरेको विद्यार्थी संगठनको माग पुरा भएको छ ।
झापाको कचनकवल गाँउपालिकाले निर्धारण गरेको शिक्षा नीति गलत भएको भन्दै केही समय अघि कचनकवलका संयुक्त विद्यार्थी संगठनले गाउपालिका भित्रका कक्षा ११ र १२ पढाई हुने विद्यालयका लेखा शाखामा तालाबन्दि गर्नुका साथै ज्ञापनपत्र बुझाएका थिए । गाँउपालिकाले यसै शैक्षिक सत्रबाट लागुहुनेगरि अबलम्बन गर्नलागेको १ विद्यालय १ संकायको नीति गलत भएको भन्दै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गरेकै कारण गाउँपालिका शिक्षा प्रशासनले उक्त नीतिबाट पछि हट्दै विद्यार्थीहरुको माग पुरा गरेको नेपाल विद्यार्थी संघ झापाका सचिव नारायण नेपालले बताएका छन् ।
कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जर आलमको अध्यक्षतामा आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्र.अ सहितको भदौ २ गते बसेको बैठकले १ विद्यालय १ संकायको निर्णयलाई खारेज गरेको थियो ।