Homeसमाचारधानको लागत खर्च नै नपाएको किसानको गुनासो, समर्थन मूल्य तोक्न सरकारसँग माग

धानको लागत खर्च नै नपाएको किसानको गुनासो, समर्थन मूल्य तोक्न सरकारसँग माग

इन्दु पूर्वेली
झापा ३ असार ।
झापा शिवसतासी–४ का किसान भक्ति सिटौलाले २ विगाह क्षेत्रफलमा धानखेती गरेका छन् । उनीसहित त्यसक्षेत्रका किसानलाई चैत लाग्दैदेखि दोस्रो साताभित्रमा रोपिएको चैते धान थन्क्याउन अहिले धमाधम छ ।
कनकाई नहर जल उपभोक्ता संस्था अर्थात् कनकाई सिंचाई प्रणालीमार्फत सिंचाई सुविधा प्राप्त गरेदेखि उनीसहित त्यस क्षेत्रका अधिकांश किसानले चैते धान लगाउन थालेका हुन् । सिटौलाले आफूले लगाएको खेतीबाट लगभग ७५ मन धान उत्पादन हुने अनुमान गरेका छन् । तर मौसमका कारण सुकाएर भण्डारण गर्न नसकिने तथा विक्री गर्दा लागत मूल्य समेत नउठ्ने भएपछि आगामी बर्षहरुमा धान रोप्ने कि नरोप्ने भन्ने दुविधामा उनी पुगेका छन् ।
‘यो धान आज सुकायो, भोली सुकाउन पाइन्छ कि पाइदैन ? टुङ्गो हुँदैन’–नेपाली कांग्रेसका पूर्व सचिव समेत रहेका सिटौलाले भने–‘किसानसँग ड्राइ मेसिन छैन, भण्डारण गर्ने ठाउँ छैन । बेच्नैपर्ने बाध्यता छ । वेच्दा प्रतिमन पाँच–छ सय दिन पनि ब्यवसायी मान्दैनन् ।’
विउ खरिद, जोताई खर्च, गोडमेल, रासायनिक मल, रोप्ता र काट्दा लाग्ने खेताला, झार्नका लागि थ्रेसरको खर्च जोड्दा उत्पादन लागत नै प्रतिक्विन्टल २ हजारदेखि २५ सयसम्म पुग्ने उनले बताए । ‘अहिले ब्यवसायीले प्रतिक्वीन्टल १५ सय पनि दिदैनन्’–उनले भने–‘केही राइस मिल र विचौलिया ब्यापारीको सिण्डिकेट चल्छ । आजभन्दा २० बर्ष अघि पनि धानको मूल्य यस्तै थियो, अहिले पनि कृषि उपजको मूल्य बढेको छैन । तपाई आफैं भन्नु न अहिले उपभोग्य वस्तुको मूल्य कहाँ पुग्यो ? चामलको मूल्य कति बढेको छ ?’
बजारमा चलनचल्तीको मूल्य र किसानले पाउनेबीचको मूल्यान्तर निकै मोटो भएपनि यसको नियन्त्रणमा कसैले चासो नदिएको उनको गुनासो छ । ‘प्रतिमन पाँच–६ सय मन धान किसानबाट ब्यवसायीले किन्दैगर्दा उनीहरुले उत्पादन गरेको चामल मजदुरले २०–२५ रुपैयामा पाउनुपर्छ’–उनले भने–‘बर्खे धान साँचेर कतिपय ब्यवसायीले पछि हिउदे धानमा मिसाउँछन् र ५० रुपैया के.जी. चामल बेच्छन् । यसको नियन्त्रण कस्ले गर्ने ? कृषि क्षेत्रका मुद्धा राजनीतिक दल, स्थानीय, प्रदेश र संघीय सरकार कसैले नउठाइदिदा कृषि अत्यन्तै उपेक्षित भएको र अन्नदाता किसानहरु खेतीतर्फ हतोत्साही बनेको सिटौलाले बताए ।
यता झापाको बुद्धशान्ति–३ मा भने ब्यापारीहरुले धान उठाउन नै नमानेको किसान बताउँछन् । ‘काटेर झारिसकेपछि चिसो मौसमका कारण धेरैदिन राख्न सकिदैन’–त्यहाँका किसानले भने–‘मिलवालाले बोरा छोड्न नै मान्दैनन्, धान नै उठाउँदैनन् ।’ दिनहुको पानी झरीका कारण असारमा पाक्ने धान धेरै दिन भण्डारण गर्न नसकिने किसान बताउँछन् । नसुकेपछि कुम्मिने र कुम्मिएको धानबाट उत्पादित चामलमा स्वाद नहुने भएका कारण पनि किसानलाई जति मूल्य पायो त्यतिमै बेच्नुपर्ने बाध्यता छ ।


कनकाई नहर जल उपभोक्ता संस्थाका अध्यक्ष तथा शिवसतासी–६ मा धानखेती समेत गर्दै आएका किसान कमल भण्डारीले धानको मूल्य नबढेकै कारण किसान निराश भएर खेती गर्नै छाडेको बताए । संस्थाको फेसबुक पेजमा उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै लेखेका छन्–‘कनकाइ सिंचाई प्रणालीभित्रका उपभोक्ता (कृषक)हरुलाई चैते धानबाली लगाउन उत्प्रेरित गरी करिव ४००० हेक्टरमा सिंचाई उपलब्ध गराउँदै आएतापनि बर्षेनी कृषकहरुले उत्पादन गरेको चैते धानको मूल्य कृषकहरुले  उत्पादन गर्दा लाग्ने लागत (खर्च)भन्दा पनि कम मूल्य प्रतिक्विन्टल रु १५०० सयमा मा ब्यापारीहरुले खरिद गरिरहेको र सोही मूल्यमा बेच्न किसान बाध्य भएका छन् ।’ झापाको तोपगाछी र कमल गाउँपालिकाका सिंचाई उपलब्ध क्षेत्रमध्ये ४ हजार हेक्टरमा धान खेती हुने अपेक्षा गरिए पनि धानको मूल्य नपाउने समस्याका कारण यसबर्ष १५ सय विगाहमा मात्रै खेती भएको भण्डारीको भनाई छ ।
उनका अनुसार कनकाई सिंचाई प्रणालीमार्फत झापाको शिवसताक्षीको सबै क्षेत्र र गौरादह, गौरीगञ्ज, कमलमा सिंचाई ब्यवस्थापन, नहर मर्मत सम्भार र कृषकको घर–घरमा पानी पु¥याउने ब्यवस्था गरिए पनि उत्पादित अन्नले बजार मूल्य नपाउँदा किसानहरु निराश भएका हुन् ।
प्रतिविगाह खेती गर्न लाग्ने लागत मूल्यबारे उल्लेख गर्दै उनले लेखेका छन्–‘एक विगाह खेतीमा चैते (विजी) धानको विउ खरिद २ हजार पाँचसय, जोताई १० हजार पाँचसय, रासायनिक मल ५ हजार, रोपार खर्च १० हजार, विजुली विल ३ हजार, कटाइ–बोकाई १० हजार, थ्रेसरिङ ४ हजार, जम्मा–४५ हजार । ’ यति खर्च गर्दा सरदर ८० मन उत्पादन हुने र प्रतिमन ६ सयमा विक्री गर्दा किसानलाई लगभग ४८ हजार रुपैयाँ मात्रै आम्दानी हुने उनको भनाई छ ।
‘राज्यले उचित समर्थन मूल्य नतोकेका कारण विचौलिया ब्यापारी र मिल  मालिकहरुले आफूखुशी मूल्य तोकेका छन्’–उनले भने–‘प्रतिमन एकहजारमा बेच्दा मात्रै लगानी उठ्छ अहिले केही ब्यापारी र मिल सञ्चालकले आफूखुशी मूल्य तोकेर प्रतिमन पाँच–छ सयमा  मात्रै खरिद गर्दा किसान अत्यन्तै मारमा परेका छन् ।’
सरकारले कृषि सुपरजोन घोषणा, कृषिप्रदान देशको रटानमात्रै लगाएर नहुने भन्दै उनले भने–‘समयमा मल, विऊ उपलब्ध गराएर मूल्य र बजार ब्यवस्थापन गर्न नसक्नु ठूलो कमजोरी हो ।’
सरकारले धानको समर्थन मूल्य नतोक्नु र आफूसहित सबै किसानहरुले उत्पादित धान लागत खर्चभन्दा कम मूल्यमा बेच्नु परेपछि आक्रोशित बनेका उनले फेसबुक पेजमै लेखेका छन्–‘माथिल्लो निकायमा बसेर काम गर्ने बादशाहहरुले कृषकको हितमा काम गर्छौं भनेर डिङ हाँके पनि निम्नस्तरको कृृषकको लागि माखो नमारेको कुरा घामजत्तिकै छर्लङ्ग छैन र ?’
धानको समर्थन मूल्य तोकेर खरिदको वातावरण मिलाउन संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएका भण्डारीले यसको नियमित अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय झापालाई आग्रह समेत गरे ।
धान र चामलबीचको ठूलो मूल्यान्तर र बजार ब्यवस्थापन गर्न नसके ड्राई मेसिन र धान भण्डारको ब्यवस्थापन गरिदिन कृषक तथा राजनीतिकर्मी भक्ति सिटौलाले सरकारसँग आग्रह गरेका छन् । ‘मूल्यान्तर र बजारमा देखिएको कालाबजारी, कृतिम अभावबारे अनुगमन गर्ने जिम्मेवारी त प्रमुख जिल्ला अधिकारीसँग पनि हुन्छ’–सिटौलाले भने–‘मैले किसानले पाएको  धानको न्युन मूल्य, मजदुरले बजारमा महंगो चामल किन्नुपरेको यथार्थ र किसानले लागत मूल्य नै नपाएको कुरा दर्शाएर अनुगमन गरिदिन सिडिओ (प्रमुख जिल्ला अधिकारी)–सा’बलाई पनि आग्रह गरे । तर उहाँले खुल्ला बजार हो, म नियन्त्रण गर्न सक्दिन भन्नुभयो । ’ त्यसो त किसानका समस्या झापाका कुनै राजनीतिक दल, प्रदेश तथा संघीय सांसदले समेत नसुनेको र समर्थन मूल्य तोक्ने सवालमा समेत कसैले कुरा नउठाइदिएको उनको गुनासो छ ।
झापाका कन्काई नहरको पँहुच पुगेका शिवसतासी, गौरीगञ्ज, गौरादह, कमल, विरिङ नदीको सिंचाई सुविधा भएको बुद्धशान्ति, बनियानी, कचनकवल, झापा, बिर्तामोड, दमक लगायतका क्षेत्रका किसानले चैते—२ , चैते—४ र विजी जातको चैते धान लगाएका छन् ।
तर केहीदिन अघिसम्म ७ सय ५० रुपैया प्रतिमन विक्री भएको बर्खे धान अधिकांश किसानले काट्न थालेपछि भने क्रमशः मूल्यमा गिरावट आउन थालेको किसानहरु बताउँछन् ।
विचौलिया ब्यापारी, धान काँटा गर्ने ब्यापारी र मिल सञ्चालकको मिलेमतोमा  नै मूल्य घटाइने र किसानलाई न्युनतम लागत मूल्य समेत नदिइने गरेको भन्दै किसानहरुले प्रतिमन एकहजार रुपैयाँमा विक्री गर्न पाउँदा मात्रै लागत मूल्य उठ्ने बताउँदै आएका छन् । झापामा २१ हजार हेक्टरमा चैते धान खेती हुँदै आएको छ । प्रविधिको उच्चतम प्रयोग गरेर कृषिको उपार्जनमा जनता आकर्षित हुँदै गएपनि उत्पादित सामग्रीको मूल्यमा देखिएको गिरावटले भने किसानलाई बर्षेनी चिन्तित बनाउने गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारधानको लागत खर्च नै नपाएको किसानको गुनासो, समर्थन मूल्य तोक्न सरकारसँग माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img