Homeसमाचार‘विपदमा कांग्रेस’ अभियान सञ्चालनको तयारी, महाधिवेशन समयमै हुने शर्माको दावी

‘विपदमा कांग्रेस’ अभियान सञ्चालनको तयारी, महाधिवेशन समयमै हुने शर्माको दावी

विर्तामोड ३ असार । नेपाली कांग्रेस झापाले ‘विपदमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग बिहीबार आयोजना गरेको भर्चुअल बैठकमा ने.का. झापा सभापति उद्वव थापाले राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ‘विपदमा कांग्रेस’ अभियान मार्फत नेपाली कांग्रेसका वडादेखि गाउँ÷नगर, प्रदेश क्षेत्र, क्षेत्र तथा जिल्लास्तरका कार्यकर्ता कोरोना तथा अन्य महामारी, प्राकृतिक प्रकोपमा उद्धार, राहत र पुनस्र्थापनाका कार्यक्रम लिएर महामारी प्रभावित तथा प्रकोप पीडितको घरदैलोमा पुग्नेछन् ।
सरकारले कोरोना प्रभावितका उपचार, खोप आयात, तथा राहत वितरणको कुनै कार्यक्रम सञ्चालन गर्न नसकिरहेका बेला कांग्रेस अभियान सञ्चालनको तयारीमा लागेको हो । बैठकले काठमाडौं–झापा सम्पर्क समितिका प्रवीन निरौलालाई पार्टीको प्रचार–प्रसार विभागको सदस्यमा मनोनयन पनि गरेको छ ।
सोही कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रविधिको उच्चतम प्रयोग गरेर तोकिएको समयमा पार्टीको चौधौं महाधिवेशन गर्न सकिने बताउनुभयो ।
प्रवक्ता शर्माले नेपाली कांग्रेसले प्रविधिको प्रयोगमार्फत ७७ वटै जिल्ला र सबै निर्वाचन क्षेत्रमार्फत क्रियाशील सदस्यको तथ्यांक अध्यावधि गरिसकेको जानकारी दिदै भर्चुअल प्रविधिमार्फत मनोनयन दर्ता तथा ७७ जिल्लाबाटै मतदान गर्न सकिने जानकारी दिनुभएको होे ।
‘भदौमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा हामी छौं तर कोरोना भाइरसका कारण सबै एकैठाउँ उपस्थित हुने अवस्था छैन’–प्रवक्ता शर्माले भन्नुभयो–‘वडा, गाउँ र नगरको अधिवेशन वडा–वडाका मतदान केन्द्रबाट, प्रदेश क्षेत्र, क्षेत्र र जिल्ला अधिवेशन प्रदेश क्षेत्रका मतदान केन्द्रमार्फत र प्रदेश तथा केन्द्रको महाधिवेशन जिल्ला–जिल्लाबाट भर्चुअल प्रविधिमार्फत गर्न सकिन्छ ।’ यो प्रविधि पूर्ण गोपनीय तथा विश्वसनीय हुने उहाँको दावी छ ।
पहिलाको भन्दा अहिलेको संसद विघटन फरक तरिकाले भएको उल्लेख गर्दै उहाँले सर्वोच्च अदालतले संवैधानिक ब्यवस्थाकै आधारमा संसद पुनस्र्थापना हुने विश्वास प्रवक्ता शर्माको थियो । कोरोना खोप खरिद प्रकृयामा सरकार प्रवेश नै नगरेकोप्रति आपत्ति प्रकट गर्दै प्रवक्ता शर्माले अनुदानमा हात पसार्ने प्रबृत्तिकै कारण खोप नआएको धारणा राख्नुभयो ।
‘डिपार्टमेन्टल स्टोरमा गएर अनुदान माग्नेले भन्दा खरिद गर्नेले छानी–छानी सामग्री प्राप्त गर्छ’–प्रवक्ता शर्माले भन्नुभयो–‘कोरोनाका कारण विश्व समुदाय नै प्रभावित छ, खोप अभाव नै भएपनि अनुदान माग्दाभन्दा हामी किनेर लैजान्छौं भन्दा छिटो पाइन्छ ।’ तर सरकारले खरिदको प्रकृया पनि अघि नबढाएको र निजी तथा सामाजिक संघसंस्थालाई पनि खोप आयातको जिम्मेवारी नदिदा कोरोना नियन्त्रणमा समस्या देखिएको उहाँको भनाई छ ।
गृहजिल्ला झापामा रहनुभएका प्रवक्ता शर्माले काठमाडौँ फर्किएपछि यो विषयमा केन्द्रीय नेतासँग थप छलफल गरेर निष्कर्षमा पुगिने जानकारी दिनुभयो । जिल्लाका नेता कार्यकर्ताले समयमानै महाधिवेशन हुन नसक्ने चिन्ता जाहेर गरेपछि प्रवक्ता शर्माले आस्वस्त पार्दै भन्नुभयोे,“ कांग्रेस संवैधानिक बाध्यताबाट पछि नहटी राजनीति जिम्मेवारी पूरा गर्नेमा दृढ छ, हरहालतमा पार्टीको महाधिवेशन हुन्छ ।’ महाधिवेशन नहोला कि भन्ने चिन्ताबाट मुक्त देखिनुभएका शर्माले प्रविधि मार्फत पार्टीको डेटा राख्ने कुरामा कांग्रेस अरु पार्टीभन्दा अब्बल र अगाडि रहेको दाबी समेत गर्नुभयो । केन्द्रमा क्रियाशील सदस्यको फायल थुपारेर कागजको थुप्रो लगाउने परम्पराको अन्त्य भएको जिकिर गर्दै उहाँले अहिले अनलाइनबाटै क्रियाशील सदस्यता सम्बन्धि सबै काम भइरहेको समेत बताउनुभयो । “ क्रियाशील सदस्यता सम्बन्धि काम सुरुमा सम्भव होला कि भन्ने आशंका सबैमा थियो’ उहाँले भन्नुभयो–,“ यसमा कुनै समस्या छैन, प्रविधि प्रयोग गरेर महाधिवेशन गर्न सक्ने साधन स्रोत कांग्रेससँग छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ? भनेर गरेको टिप्पणीलाई ठाडो भाषाको संज्ञा समेत दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेता डिल्लीप्रसाद सिटौलाले मुलुकका सामु कोरोना नियन्त्रण, सरकारद्वारा नै संविधान समाप्त पार्ने षडयन्त्रको अन्त्य, पार्टीको महाधिवेशन र प्रकोपको पीडा समाधान मुलुककै मुख्य चुनौति रहेको बताउँदै यसको समाधानमा पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष केशवराज पाण्डे, प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भटराई, झापा सभापति सुशिला ढकाल,सचिव उर्मिला पोखरेल, नेपाली कांग्रेस झापा सदस्य पुष्प पौडेल, गोपाल उप्रेती, विजय रिजाल, तेजप्रसाद चौलागाई, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारी, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नेपाल शिक्षक संघ झापाका सभापति नेत्र खरेल, नेपाल चिया बगान श्रमीक संघका अध्यक्ष दीपक तामाङ, नेविसंघ पूर्व सहमहामन्त्री उमा शिवाकोटी, दीपक प्रधान, ओम विमली लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
मन्तब्य राख्ने अधिकांश बक्ताहरुले आगामी महाधिवेशनबाट पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने, नेकपा नेतृत्वको सरकारले गरेका गलत कामको भण्डाफोर गर्नुपर्ने, मजदुर तथा अत्यन्तै न्युन आर्थिक अवस्था भएका नागरिकलाई राहत वितरण गर्नुपर्ने, मजदुरका तलब बृद्धि, सामाजिक सुरक्षा लगायतका मुद्धामा सरकारको ध्यानाकर्षण गर्नुपर्ने, खोप आयातका लागि सरकारलाई दवाव दिनुपर्ने, आगामी महाधिवेशनमा संसदीय क्षेत्र र पार्टी संगठन छुट्याएर सक्रियताको आधारमा एक क्षेत्रमा मात्रै जिम्मेवारी दिनुपर्ने सवाल उठाएका थिए ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहजीकरण प्रचार–प्रसार विभाग प्रमुख कृष्ण हुमागाईले र प्राविधिक सहयोग प्रवीन निरौलाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘विपदमा कांग्रेस’ अभियान सञ्चालनको तयारी, महाधिवेशन समयमै हुने शर्माको दावी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img