विनोद खनाल
पृष्ठभूमि
नेपाली काब्य साहित्यको इतिहास त्यति लामो त छैन, तैपनि यस क्षेत्रमा करिब अढाई सय वर्षको समय अवधि भने पार गरिसकेको छ । यो अवधिमा नेपाली काब्य साहित्यमा गीतीलय, छान्दिकलय, शास्त्रीय छन्द, सवाई, गजल, हाइकू र मुक्त छन्दका कविताहरुको रचना र विकास भएको पाइन्छ । वर्तमान अवस्थामा नेपाल र नेपाल बाहिरका नेपालीहरुको बसोबास भएका ठाउँहरुबाट पनि नेपाली काब्य साहित्यका पुस्तकहरु प्रकाशन भइरहेको छन् । यिनै काब्य साहित्यको भिडभित्र झापा बिर्तामोड नगरपालिका–४ परोपकार टोल निवासी कवयित्री मीना अधिकारी तिम्सिनाको कविता संग्रह ‘मनका तरङ्गहरु’ पनि पाठक सामु आयपुगेको छ । कुनै पनि कृतिले व्यक्तिm समाज र राष्ट्रको सामयिक अवस्थालाई कुनै न कुनै रुपमा चित्रण गरेकै हुन्छ । यस्तै कृतिहरुको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रको अध्ययन गर्न सकिन्छ । यी कुराहरुको परिपूर्ति आंशिक रुपमा भएपनि मनका तरङ्गहरुले गरेका छन् भन्ने विश्वास लिन सकिन्छ ।
कृतिकारको संक्षिप्त परिचय :
कवयित्री मीना अधिकारीको जन्म वि.सं. २०२० साल माघ २० गते पिता उद्धव अधिकारी र माता राधा अधिकारीको गर्भबाट जेठी छोरीको रुपमा भोजपुर जिल्लाको दिङ्लाका अधिकारी परिवारमा दलगाउँ गाउँपालिकामा भएको हो । दुःख कष्टले एस.एल.सीसम्म अध्ययन गरेकी मीनाले धनगढी नगरपालिकाको सिंचाइ निर्देशनालयबाट टाइपिष्ट (मुुखिया) पदबाट आफ्नो जागिरे जीवन सुरु गरेको पाइन्छ । वि.सं. २०५९ पुसदेखि जागिरे जीवनबाट फुर्सद लिएर वहाँ हाल पति केदार तिम्सिना छोरा बुहारी पुकार र विभूति तिम्सिना, छोरो क्षितिज तिम्सिनाका साथ विर्तामोड–४ परोपकार टोलमा बस्दै आउनु भएको छ । सत्तरीको दशकदेखि मात्र गीत, कविता, साहित्य सिर्जनामा लाग्नु भएकी वहाँले हाल विभिन्न साहित्यिक कार्यक्रमहरुमा कविता वाचन र गीत गाउँदै आफ्ननु परिचयलाई फराकिलो बनाउँदै सुमधुर स्वरकी धनीका रुपमा चिनाइ सक्नु भएको छ । मीना अधिकारी पहिलोबाट लडेर खोलामा पुगेर पानीको बेगले यता पल्टाउँदै उता हुत्याउँदै ठक्कर खाँदै गरेको ढुङ्गाको जीवन बोकेकी नारी हुन् । उनका प्रकाशित दुई कृतिहरु ‘सम्झनाका श्रृङ्खलारु (संस्मरण संग्रह) र ‘मनका तरङ्गहरु (कविता संग्रह) ले यही कुरा बोलेका छन् । मानिसले दुःखमा पलायन भएर होइन आँट, साहस र धैर्य लिएर संघर्ष गर्दै बाँच्नु पर्छ भन्ने सकारात्मक सन्देश वहाँका जीपन भोगाइ सम्बन्धी लेख र कविताहरुले दिएका छन् । यसभन्दा बढी परिचय उनका कृतिहरुले नै दिनेछन्
कृतिको संक्षिप्त परिचय:
कवयित्री मीना अधिकारीद्वारा रचना गरिएको कविता संग्रह ‘मनका तरङ्गहरु’ को प्रकाशन वि.सं.२०७६ मंसीरमा भएको पाइन्छ । यस कृतिको प्रकाशक कृतिकारकै आमा राधादेवी अधिकारी हुनहुन्छ । रेजिना रोदनद्वारा कम्प्युटर गरिएको यस कृतिको आवरण कमला भट्टराई पराजुलीद्वारा गरिएको छ । बुद्ध अफसेट बिर्तामोडमा मुद्रण भएको यस कृतिको मस्ल्य रु. एकसय राखिएको छ ।चौरासी पेज रहेको प्रस्तुत पुस्तकमा अड्सठी पेज कविताहरुले ओगटेका छन् भने अगाडिका सोह्र पेजमा मन्तव्यहरु विषयसूची र अन्य सामग्रीहरु रहेका छन् । यस कविता संग्रहको सुरुमा साहित्यकार कुन्ता शर्माद्वारा लेखिएको ओजपूर्ण मन्तव्यले कृतिलाई विशेष माथि उठाएको छ । प्रकाशको तर्फबाट राधादेवी अधिकारीको छोटो लेख रहेको छ भने कृतिकार मीना अधिकारीले कविता रचना र वाचनका सन्दर्भ, प्रसङ्ग र कविता वा साहित्य सिर्जना गर्न वातावरण मिलाइदिने सार्थ प्रेरक र सहयोगी व्यक्तिहरुप्रति धन्यवाद र आभार प्रकट गर्दै लेखिएको लेख रहेको छ । यस काब्यकृति भित्र जम्मा उन्चासवटा कविताहरु छन्, जसमध्ये अड्चालिस वटा लयात्मक कविताहरु मीना अधिकारीका र अन्तिमको एउटा मुक्त कविता छोरो पुकार तिम्सिनाको रहेको छ । यस कृतिभित्र विभिन्न शास्त्रीय छन्दका लयमा रचना गरिएका कविता तथा गीतीलयमा रचना गरिएका कविताहरु छन् । जसमा जीवन भोगाए, दुःखसुख, मानसम्मान, वेदना, पीडा आदिको अनुभव र अनुभूतिलाई प्रस्तुत गरिएको छ ।
कृतिभित्र पस्दा :
कवयित्री मीना अधिकारीद्वारा रचना गरिएको कृति ‘मनका तरङ्गहरु’ (कविता संग्रह) भित्रका सबै कविताहरुलाई एक एक गरेर केलाउन खोजिएको छैन । यस कृतिका रचनाकार कवि मीना अधिकारी काब्यिक विशेषता वा प्रवृत्ति र मुख्य रुपमा कविताले दिन खोजेको सन्देशहरुलाई मात्र उल्लेख गर्ने प्रयास गरिएको छ । प्रत्येक कविताको बारेमा चर्चा गर्न थाल्दा लेख धेरै लामो हुने हुँदा मुख्य मुख्य कुराहरुलाई प्रस्तुत गरिएको छ । कवयित्री मीना अधिकारीद्वारा रचना गरिएको मनका तरङ्गहरु कविता संग्रहलाई सरसर्ती अध्ययन गर्दा उनका काब्यिक प्रवृत्तिहरु निम्न अनससार रहेको पाइन्छ ।
१. देशप्रेमको भावना
२. शास्त्रीय छन्दको लयको प्रस्तुती
३. भगवानप्रति आस्था
४.धर्म, संस्कृति र संस्कारप्रतिको श्रद्धा र मोह
५. देशको सामाजिक र राजनैतिक अवस्थाको चित्रण
६. जीवन भोगाइका अनुभव र अनुभूति
७. श्रद्धा, प्रेम, माया र सद्भावको प्रस्तुती
८. क्रान्तिकारिता र व्यङ्ग्य चेत
९. संघर्ष र आत्मविश्वासको प्रस्तुती
१०. नारी पुरुषमा समभावको सन्देश
११. सरल भाषाशैली र शब्दको प्रयोग
यी बाहेक पनि कवयित्री मीना अधिकारीका कविताहरुमा अन्य भावहरु पनि शुक्ष्म रुपमा प्रकट भएको पाइन्छ । तर माथि उल्लेख गरिएका काब्यिक विशेषताहरु नै मीना अधिकारीका कविताहरुमा समेटिएका छन् भन्न सकिन्छ । उनको पहिलो कविता ‘म आफ्नै कलामा सधैं रम्न पाउँ’ले नारीलाई पनि पुरुष सरह अधिकार दिइनु पर्ने कुरामा जोड दिंदैं क्रान्ति चेतना दिएको छ । यसैगरी ‘आमाको आरती’ ‘सासू नहुँदा’ ‘आमाप्रति’ कवितामा सद्भाव व्यक्त गरिएको छ । उनको ‘आत्मकहानी’ कविताले छोटोमा उनको जीनव कहानी’ कविताले छोटोमा उनको जीवन कहानी प्रस्तुत गरेको छ । ‘कविको जीवन’ कवितामा दुःखबाट नै साहित्यको सिर्जना हुन्छ भन्ने भाव प्रकट गरिएको छ भने बग्यो जीन्दगानी कवितामा बाल्यकालदेखि जवानीसम्मको अवस्थालाई चित्रण गरिएको छ । ‘बराबरी’ शीर्षकको कविता पनि नारी र पुरुषमा अधिकार र व्यवहार सम्मान हुनुपर्ने भाव व्यक्त गरिएको छ । ‘मेरी छोरी’ कविता प्रतिकात्मक छ । आफ्नो सिर्जनालाई छोरीको रुपमा राखिएको छ यस कवितामा । ‘अन्याय नगरौं’ कवितामा अन्याय विरुद्व लड्ने चेतना प्रदान गरिएको छ भने ‘उज्यालो भो’ कवितामा साहित्यको सामीप्यताले मन उज्यालो भएको कुरा प्रष्ट पारिएको छ । ‘शिव दर्शन’ कवितामा शिव भगवानप्रति श्रद्धाभाव प्रकट गरिएको छ । ‘बाल स्नेह’ कवितामा बालकहरुप्रति स्नेह भाव प्रकट गरिएको छ । ‘संस्कारको जगेर्ना’ मा परम्परादेखि चलिआएका सांस्कृतिक परम्परालाई जोगाउनु पर्छ भन्ने भाव प्रकट गरिएको छ भने ‘सधैं मुस्कुराउँछु’ भन्ने कवितामा दुःख कुल्चेर आफू मुस्कुराउने र अरुलाई पनि मुस्कुराउन सन्देश दिने कुरा रहेको पाइन्छ । यसै गरी ‘प्यारो सिरानी’ उनको श्रृङ्गारिक भाव प्रकट गरिएको कविता हो । ‘भानुलाई चिठी’ कवितामा व्यङ्ग्य चेतको छनक पाइन्छ भने ‘मृत्यु पछिको संस्कार’ कवितामा भने कवयित्रीले हिन्दू संस्कारप्रति नकारात्मक भाव प्रस्तुत गरेको पाइन्छ । यसरी हेर्दा कवयित्री मीना अधिकारीका प्रत्येक कविताहरुले कुनै न कुनै सन्देश बोकेकै पाइन्छ । कुनै कविताहरु समस्यापूर्तिको माध्यममात्र शास्त्रीय छन्दको लयमा रचना गरेको पाइन्छ भने कुनै गीतीलयकार रचनाहरु छन् । उनका छोटा–छोटा कविताहरुले जीवन र जगतलाई राम्ररी नियालेको पाइन्छ । उनका कवितामा उदृत गर्न चाहन्छु ।

‘रजैमा निली वीज संसार बन्छ,
रजैबाट नै यो संसार बाँचिरहन्छ,
उठौं आज नै छाउको गोठ फालुँ
म आफ्नै कलामा सधैं रम्न पाऊँ ।।
(म आफ्नै कलामा सधैं रम्न पाऊँ)
‘यो आफ्नै शरीर मन्दिर रैछन् ज्ञानज्योति सजाई,
‘मानिसमा सत्य हरायो जब मानव बन्दैन’
(सत्य र असत्य)
‘महिला पुरुष एउटै छ आत्मा फरक केही छैन,
भावना पनि उस्तै हो, सोचे घर संसार चलाउन’
(नारी)
‘यहाँ छोरी जम्मेपछि हुन्छ पीर’
‘मुलुकमा म देख्छु सधैं भाँडतन्त्र’
‘बाँधेर कै ल्यै बाँधिन्न मन छोपेर छोपिन्न,
भावनाहरु उर्लेको बेला रोकेर रोकिन्न’
(देवकोटालाई चिठी)
‘हिम्मत र साहसमा हाँस्न सिकौं नारी,
जस्ता अड्चन आए पनि विराट छाती पारी’
(उत्पीडन)
‘वचन तीर भन्दा तातो झिर जाती,
सुख सयल भन्दा पनि दुःखै रैछ साथी’
(खुशी दिलाउने)
‘अमृतै बोली बोल्नु है सधैं लाँदैन कसैले’
(कविको जीवन)
‘स्वर्ग झैं हुन्छ दाम्पत्य, जीवन अन्तरमन मिल्दामा
कारकापमा माया नहुने रैछ देखाउन मिल्दैन ’
(किनेर पाइन्छ)
यी त केही उदाहरण मात्र हुन् । यस्तै यस्तै धेरै महत्वपूर्ण हरफहरु मीना अधिकारीका कविताहरुमा पाइन्छ । उनका कविताहरुमा कहीं–कहीं धर्म र संस्कृतिप्रति अत्यन्त श्रद्धाभाव र सम्मान राखेको पाइन्छ भने कहीं धर्म, संस्कारप्रति नकारात्मक भाव पनि भेटिन्छ । त्यसरी नै नारीप्रति सम्मान भाव व्यक्त गरिएको पाइन्छ भने कहीं छोरीलाई अवगालको गुण भनिएको छ । यस कृतिभित्र वर्ण विन्यासगत त्रुटीहरु सामान्य रुपमा पाइन्छ भने कहीं कतै शब्द चयन पनि अलिक नमिले झैं लाग्दछ ।
समग्रमा भन्नुपर्दा मीना अधिकारी झापामा पछिल्लो समय उदाएकी नारी प्रतिभा हुन् । दुःख र वेदनालाई साहित्यमार्फत पोखेर बाँच्न हिम्मत कसेकी मीना अधिकारी आफ्नै मेहनत र संघर्षले अघि बढेकी उदाहरणीय नारी पात्र हुन् । सरल स्वभाव र हंसमुख, मिजासिली सर्जक मीना अधिकारी दुःखमा पिल्सिएकी नारीहरुको प्रतिनिधि पात्र हुन् । उनीबाट समाजले धेरै कुरा सिक्न बाँकी नै छ र उनले पनि समाजलाई धेरै गुणहरु प्रदान गर्न बाँकी नै छ । मीना अधिकारीद्वारा अन्य कृतिहरु पनि प्रकाशित हुँदै जाऊन् । जीवन स्वस्थ रहँदै साहित्य सिर्जना मै बितोस् । उनको प्रतिभाले उपयुक्त स्थान, उच्चस्थान प्राप्त गर्न सफल होस् । शुभकामना व्यक्त गर्दछु ।
मेचीनगर नगरपालिका

































































































