
विर्तामोड २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज झापाले प्रत्येक वर्ष प्रदान गर्दै आएको डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार यस वर्ष माधव विद्रोहीलाई प्रदान गरेको छ ।
फोनिजको २० औं स्थापना दिवसको अवसर पारेर विर्तामोडमा आयोजित एक समारोहका बीच २५ हजार नगद तथा ताम्रपत्रसहित विद्रोहीलाई सम्मान गरिएको हो । पत्रकार विद्रोही तीनदशक अघिदेखि पत्रकारितामा क्रियाशील छन् ।
यसैगरी उदीयमान पत्रकारिता पुरस्कारबाट कञ्चनजंगा एफएमका राजवंशी भाषाका समाचार सम्पादक तथा वाचक ध्रुव राजवंशी र रेडियो भिजनका लिम्बू भाषाका समाचार सम्पादक तथा वाचक भगिहाङ नेम्वाङ (रानीटारे साइला) लाई सम्मान गरिएको छ ।

सम्मानित दुवैलाई जनही पाँचहजार नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मान समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा फोनिजका केन्द्रीय सचिव कमन देवानले सरकारले समानुपातिक सहभागिताको सिद्धान्त अनुरुप बनाएको कानून कार्यान्वयनमा आलटाल गरेको आरोप लगाउँदै आरक्षणका लागि हुने आन्दोलनमा सहभागी हुन आह््वान गर्नुभयो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरत श्रेष्ठ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, प्रेस संगठन झापा अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, मिडिया सेन्टर झापा अध्यक्ष रञ्जित प्रसाई, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राख्दै डिकमान विरहीले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिकमान विरहीको व्यक्तित्व चर्चा अनमोल देशराज र माधव विद्रोहीको व्यक्तित्वबारे तीलक योञ्जनले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन अमित खम्बूले गरेका थिए ।

































































































