Homeझुट बोलेर जुटाएको लगानीले व्यवसायिक बनायो

झुट बोलेर जुटाएको लगानीले व्यवसायिक बनायो

बिर्तामोड । लगानी अभावमा के गर्ने के गर्ने भनेर छट्पटिरहेकी शर्मिला अधिकारीले श्रोत जुटाउनका लागि झुट बोल्नु पर्यो । सत्य बताए ऋण नपाइने अवस्था देखेपछि लगानी जुटाउन झुटको सहारा लिएको उनी बताउँछिन् ।
विगत ११ वर्षयता व्यवसायिक सिलाई–कटाईलाई सञ्चालन गर्दै आएकी शर्मिला विर्तामोडस्थित सतासी सहकारीमा आएको युवा स्वरोजगार कार्यक्रममा झुट बोलेर पाएको ऋणकै कारण आज उनी व्यवसायिक बन्न सकेकी हुन् ।
सतासी सहकारीले ल्याएको युवा स्वरोजगार कार्यक्रम सीप भएकालाई मात्र लगानी गर्ने हो भन्ने बुझेपछि लगानीको खोजीमा रहेकी शर्मिलाले ऋण जुटाउनका लागि बोलेको झुटले आज व्यवसायिक बनाएको उनको भनाई छ ।
लगानीको खोजीमा रहेकी शर्मिलालाई त्यो बेला सिलाई–कटाई आउनु त के सुध्रेको कपडा सिलाएरसम्म लगाएकी थिनन् रे । ‘म संग पैसा थिएन्, काम गर्नका लागि लगानी गर्ने थिएन, सतासी सहकारीमा युवा स्वरोजगार कार्यक्रम आएको रहेछ, तर सीप भएकालाई मात्र लगानी गर्ने रहेछ, त्यो बुझेपछि झुट बोलें ।’
सतासी सहकारीका अध्यक्ष रुद्र श्रेष्ठले सोधेको कुरा बताउँदै उनले भनिन्– तपाईलाई लुगा सिलाउन आउँछ ? मलाई आउँदैन थियो तर ऋण खानका लागि आउँछ भने ।’ उनले थपिन्–जबकी त्यो बेलासम्म म उध्रेको लुगा सिलाएर पनि लाउँदिन थें ।’ आउँदैन भनेमा ऋण नपाइने ऋण नपाए लगानी गर्ने पैसा नहुने भएपछि आउँछ भनिदिए । उनले भनिन्–‘अनि त्यहीबाट दुईलाख रुपैयाँ ऋण लिएर विर्तामोडस्थित देवीमाविको सटरमा सिलाई–कटाई शुरु गरें ।’
आफूले नजानेको पेशा त्यसमा पनि नजिकै अर्को उही व्यवसाय भएका ठाउँमा पुगेकी उनलाई छिमेकीको भनाइले मनै खिन्न भयो रे तैपनि हिम्मत भने नहारेको उनले बताइन् । शर्मिलाले भनिन्–‘कुन चाहिँ आँखा फुटेको आयो हौं सम्म भन्न पनि बाँकी राखेनन्, सुन्दा कस्तो कस्तो भयो, तर हिम्मत भने हारिन्, त्यसले अझ अघि बढ्न अझ प्रेरित गर्यो ।’


केही नजानेको पेशाका लागि ऋण लिएकी शर्मिलाले शुरुमा विषयसंग सम्बन्धि (सिलाई–कटाई) जान्नेलाई कर्मचारीका रुपमा राखेर काम चलाइन रे । तीन महिनामा केही जानेपछि भने कर्मचारी आफैं निस्किएर गएपछि भने आफैंले काम गर्न थालेको बताउँदै भनिन्–‘आफूले जानेको छैन भने कर्मचारीले पनि अप्ठ्यारो मान्दा रहेछन्, उनैबाट अलिअलि जानेपछि आफैं निस्किए ।’स्कूलकै सटरमा व्यवसाय सञ्चालन गरेपनि विद्यार्थीकोे स्कूल ‘ड्रेस’ को अर्डर लिन भने २ वर्षपछि मात्र सफल भएको शर्मिलाको भनाइ छ । देवी माविका तत्कालिन प्रधानअध्यापक लेखनाथ भट्टराईले शुरुमा २० वटामात्र अर्डर दिएको स्मरण गर्दै उनले भनिन्–‘विश्वास जित्न सकेछु, त्यसपछि भने मलाई नै आउन थाल्यो ।’
महिला र पुरुष दुवैको कपडा नाप्नदेखि काट्ने र आफैं सिलाउने समेत गरेकी शर्मिलालाई अन्य व्यवसायीले कमजोर बनाउन नखोजेका होइनन् । तपाई केटाको लुगा पनि आफैं नाप्नुहुन्छ भनेर सोधे, नाप्छु भने, जाङ पनि नाप्नु हुन्छ –फेरि सोधे, जवाफमा नाप्छु भने, कसरी नाप्नु हुन्छ ? भन्दै अलि ‘डोमिनेट तरिकाले सोध्न थालेपछि आफूले फर्काएको जवाफ स्मरण गर्दै शर्मिलाले भनिन्–एउटा कोठाभित्र लगेर नाप्ने होइन, सटर अगाडि सबैले देख्नेगरी नाप्ने हो, त्यसमा मलाई कुनै अप्ठ्यारो लाग्दैन भनेपछि चुपचाप लागे ।’ त्यो भनाई मलाई कमजोर बनाउनका लागि थियो ।दुईलाख रुपैयाँ ऋण लिनका लागि झुट बोलेकी शर्मिलाले अहिले व्यवसायमा बृद्धि गरेर झण्डै ३० लाख पुर्याएकी छन् भने ८ जनालाई रोजगारी समेत दिएकी छन् ।
त्यतिमात्र होइन भाडामा बस्दै आएकी उनले आफ्नै पौरखबाट छोरीलाई पढाउने खर्च जोड्नुका साथै घर र घडेरी समेत जोड्न सफल भएको बताउँछिन् । आफ्नो व्यवसायको श्रेय सतासी सहकारीका अध्यक्ष रुद्र श्रेष्ठ र व्यवसायलाई उठाउने श्रेय देवीमाविका प्रअ भट्टराईलाई दिने उनी कुनै पनि पेशामा दृढ संकल्प गरेर लागे असंभव नहुने बताउँछिन् ।
टेलरिङ व्यवसाय शुरु गरेपछि केही महिलालाई सिलाई–कटाई समेत सिकाइन् । उनले सिकाएहरु सबै व्यवसायिक बन्न नसकेको बताउँदै भन्छिन्–घर, परिवारको कर र रहरले सिक्न आएकाहरु आउँछन् मात्र । तर, जो बाध्यताले सिक्छ उसले व्यवहारमा पनि उतार्छ ।’
केही नजानी व्यवसायमा होमिएर सफलता प्राप्त गर्न सफल शर्मिला कामलाई गम्भिरता पूर्वक लिनुपर्ने सुझाव दिन्छिन् ।
उनी भन्छिन्–‘सफलता इच्छाशक्तिमा हुँदोरछ ।’ अझ यो व्यवसायमा त गर्न सक्दा ५० प्रतिशत फाइदा हुन्छ । हाल उनी मासिक लगभग ५० हजार आम्दानी हुने उनले बताइन् । उनी अहिले महिला उद्यमी संघ नेपाल झापाकी महासचिव हुनुहुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
झुट बोलेर जुटाएको लगानीले व्यवसायिक बनायो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img