विर्तामोड । व्यापारमा आएको मन्दीसंगै विर्तामोडस्थित उषा लेडिज कर्नरले २ वर्षयता साउन लक्षित चूरा, पोतेका सामग्री मगाउन छोडेको छ । पाँच वर्ष पहिलेसम्म अत्याधिक हुने साउने (हरियो रंगको) चूरा, पोते (हरियो रंग) र मेहन्दीको व्यापार पछिल्लो समय पुरै घटेको उषा लेडिज कर्नरका स्टाफ राकेश खत्रीले बताए । उनले भने–‘यहाँ हेर्नुन (दुईवर्ष अगाडिकै चूराको थाक देखाउँदै) ३ वर्ष अगाडि कै सकिएको छैन ।’ एक महिनाका लागि मगाएको सामान विक्री नहुँदा लगानी जाम हुने भएपछि सिजलन व्यापारभन्दा सदावहार ब्यापारतर्फ लागेको उनले बताए । राकेशले भने–‘एक महिनाका लागि मगायो, विक्री सकिएन भने १ वर्ष रहन्छ, लगानी फसायो, त्यै लगानी जाम भएपछि के फाइदा ?’ भारतीय सिमा बजारका कारण पनि विर्तामोडका व्यापारीलाई अप्ठ्यारोमा पारेको उनले बताए । १० वर्ष पहिलेको जस्तो अहिले कुनै पनि व्यापार नभएको उनको बुझाइ छ ।
महंगी बृद्धि, आम्दानी कम भएका कारण पनि व्यापारमा मन्दी आएको उनले बताए । १० वर्ष अघिको व्यापारको तुलनामा ८० प्रतिशत नै गिरावट आएको बताउँदै उनले भने–‘चल्ती नै छैन ।’
पहिलेको जस्तो व्यापार नभएको वसिम स्टोर विर्तामोडकी प्रोपाइटर रुक्साना खातुनले बताइन् । मार्केटमा भन्दा फुटपाथमा व्यापार हुने बताउँदै उनले भनिन्–‘पहिले जस्तो छैन । फुटपाथबाट रुद्र मार्केटमा सटरमा ब्यवसाय थालेपछिको अनुभव सुनाउँदै उनले भनिन्–‘ व्यापार घट्यो, फुटपाथमा हुँदा दैनिक २५ सयसम्म व्यापार हुन्थ्यो ।’ पहिलेको व्यापार र अहिलेको व्यापारको फरक सुनाउँदै खातुनले भनिन्–‘पहिले महिनैभरी राम्रो ब्यापार हुन्थ्यो, अहिले दुई÷तीन भिडभाड हुन्छ, त्यो पछि हुँदैन ।’
०७६ साल लागेपछि व्यापारमा पूर्ण रुपमा मन्दी आएको अप्सरा चुरा पसलका सञ्चालक चन्दन साहले बताए । सरकारले ल्याएको नयाँ नीति नियमले पनि अप्ठ्यारो पारेको हुनसक्ने अनुमान गर्दै साहले भने–‘सरकारको नीति नियमले अप्ठ्यारो पारेको हो कि भन्ने लाग्छ ।’ व्यापारमा मन्दी आउँदा बैंकको व्याज तिर्न समेत कठिन भएको बताउँदै उनले थपे–‘आफूले त सिष्टममा जानुप¥यो, त्यो मेन्टेन गर्न नै कठिन हुन्छ ।’ विगत १२ वर्षदेखि चुराको होलसेल व्यापार गर्दै आएका साहले पछिल्लो समय व्यापरमा कमी आउनुको कारण धेरै प्रतिष्पर्धा र गुणस्तरका कारण पनि रहेको बताए । उनले भने–‘अहिले गुणस्तर र ब्राण्डको खोजी हुन्छ ।’
पूर्वीय सभ्यता र संस्कृतिका दृष्टिले साउन महिना हरियो चुरा, पोते र मेहन्दीको महिना भनेर चिनिन्छ ।
असारमा धान रोपाई सकिएपछि साउन महिनामा खास गरी महिलाहरु नारीमा हरिया चूरा, हातमा मेहन्दी र विवाहिताले गलामा हरियो पोते लगाउने प्रचलन भएपनि यो वर्ष साउनमा खासै व्यापार नभएको व्यापारीहरु बताउँछन् ।
किसानसंग पैसा छैन, अलैंचीको भाऊ छैन, शेयर बजार घटेर मान्छे मर्ने अवस्थामा पुगेका छन्, बैंकको व्याज तिर्नै धौ धौ छ, अनि कसरी हुन्छ व्यापार ? राजश्री लेडिज कर्नरका प्रोप्राइटर राजकुमार शर्माले व्यापारमा मन्दी आउनुको कारण दर्शाउँदै प्रतिप्रश्न गरे । उनले भने–व्यापार एकदमै खस्किएको छ, व्यापार हुनलाई त मान्छेसंग पैसा हुनुप¥यो नी ।’ सरकारको ट्याक्स नीतिले पनि व्यापारमा प्रभाव पारेको उनले बताए । २० वर्ष अघि विर्तामोडस्थित धनराज मिनि मार्केटबाट चुरा, पोते लगायत महिलाले प्रयोग गर्ने श्रृङ्गारका सामग्री (मोनीहारी) पसल सञ्चालन गर्दै आएका साहको अहिले विर्तामोडमा पोखरेल मार्केट र मेघा कम्प्लेक्समा सोही प्रकृतिको पसल छ ।
सरकारले ल्याएको ट्याक्स नीतिका कारण विर्तामोडका केही व्यापारीहरुले भारतीय सीमा बजार पानीट्याङ्कीमा पसल सुरु गरेको बताउँदै साहले भने–‘विहान जान्छन्, दिनभर व्यापार गर्छन् र बेलुका बास बस्न यतै आउँन थालिसके ।’ पानीट्याङ्कीबाट विना भन्सार निश्चित मालसामान ल्याउन पाउने भएपछि ग्राहकहरु पनि उतै जान थालेको उनले बताए । १० वर्ष अघिको व्यापारमा लगानीबारे तुलना गर्दै साहले भने अहिले लगानी धेर छ, व्यापार छैन ।

































































































