
झापा १४ असार । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउण्डेसन झापाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विर्तामोडमा सम्पन्न रक्तदान कार्यक्रमा ६९ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक शिव ढुङ्गेलले जनाउनु भएको थियो । रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटीको रहेको थियो ।

पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा वक्ताहरुले मदन भण्डारीको व्यक्तित्व र राजनीतिक प्रभावबारे चर्चा गरेका थिए । घनश्याम अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
यसैबीच मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर नेकपा मोरङले बृक्षारोपण गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिम्मत कार्कीको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिएको हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपाका नेता तथा कार्यकर्ताको उपस्थितिमा उत्तरी मोरङको बेलबारी–८ स्थित सामुदायिक वनमा र पूर्वी मोरङको रतुवामाइको झुनाबारीमा बृक्षा रोपण गरिएको नेकपा मोरङ प्रचार विभागले जनाएको छ ।
मदन जयन्ती तथा राष्ट्रिय बृक्षारोपण दिवसका अवसरमा नेकपा मोरङले नेता तथा कार्यकर्तालाई यी दुई ठाउँमा उपस्थित हुन निर्देशन दिएको थियो भने उपस्थित हुन असमर्थले घर पायक पर्ने सार्वजनिक स्थलमा विरुवा रोप्ने अभियान चलाउन निर्देशन दिएको थियो ।



















