
झापा १६ जेठ । शुक्रबार १७० जनामा कोरोना पोजेटिभ देखिएसंगै देशभर कोरोना संक्रमितको सख्या एकहजार दुईसय १२ पुगेको छ । शुक्रबारमात्रै देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १७० जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शुक्रबार एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै झापामा संक्रमितको संख्या १०७ जना पुगेको छ ।
जसमा कोशी प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापा कचनकवलका २७ जना धरानको प्रयोगशालामा गरिएको परीक्षणमा झापा भद्रपुरका १ सहित झापाका २८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ताले जनाउनु भएको छ । मन्त्रालयको शुक्रबार प्रस्तुत तथ्याङ्क अनुसार झापामा २८ जना देखिएपनि भद्रपुरका १ जनाको गणना विहिबार नै भइसकेको झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
त्यस्तै धरानकै प्रयोगशालामा गरिएको नमूना परीक्षणबाट सप्तरीका ४ जना, नारायण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ४, पर्साका ५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाही घर भई हाल पाटनमै बस्दै आएका १, गण्डकी प्रदेशिक प्रयोगशालामा म्याग्दीका १, भेरी अञ्चल अस्पतालको प्रयोगशालामा बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जनाउनु भएको ।
त्यसै गरी चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणबाट कपिलवस्तुका ४, नवलपरासी सुस्ता पूर्वका २ जनामा कोरोना पोजेटिभ देखिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु, रौतहट, र सर्लाहीकासहित ८४ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ । रुपन्देशी प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १५, रुपन्देहीका १ र राप्ती प्रयोगशाला दाङमा गरिएको परीक्षणमा दाङ र कपिलवस्तुका २÷२ जनामा कोरोना संक्रमण देखिएको हो ।

































































































