
झापा ६ बैशाख । झापा गाउँपालिकाले भारतको बिहार राज्यबाट नेपाल प्रवेशको पर्खाइमा रहेका नेपालीको मंगलबार उद्दार गरेको छ । भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छोडेका ४७ जनालाई उद्दार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो ।
भारतमा रेल सञ्चालनमा आएसंगै सिमा क्षेत्रमा नेपालीहरु स्वदेश प्रवेशका लागि नेपाल भारत सिमामा आइपुगेका थिए । सीमाक्षेत्रमा आएका उनीहरुलाई सोमबार साँझ दशगजा क्षेत्रमै चाउचाउ र पानी दिइएको थियो ।
मंगलबार उद्दारसंगै गाउँपालिकाले खानाको खुवाएर उनीहरुलाई क्वारेन्टाइन र होल्डिङ सेन्टरमा पठाइएको अध्यक्ष साहले बताउनु भयो । उद्दार गरिएका मध्ये झापाका स्थानीय तहले आ–आफ्ना पालिकाका नागरिकलाई लगेका छन् भने मोरङ, तेह्रथुम, उदयपुर, पाँचथर लगायत अन्य जिल्लाका मानिसहरुलाई झापाको भद्रपुरस्थित मेची क्याम्पसमा निर्माण गरिएको होल्डिङ सेन्टरमा लगिएको बताइएको छ ।
उद्दार गरिएका मध्ये सबैभन्दा बढी कनकाई नगरपालिकाका २५, झापा गाउँपालिका ३, अन्य जिल्लाका १३ जनासहित मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी लगायतका गरी ४७ जना रहेको बताइएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा पहिलो पटक भारतको लखनउबाट आएका ४ जनालाई राखिएको छ । गाउँपालिकाले निर्माण गरेको बुद्धआदर्श माविको क्वारेन्टाइनमा पहिलो पटक भारतको दिल्ली तथा लखनउबाट आएका चारजनालाई गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जनाउनु भएको छ ।
सोहि स्थानबाट आएका पाँचथरका ८ जनालाई गाउँपालिकाको तर्फबाट खानाको ब्यवस्थापन गरिएको छ ।

































































































