
भद्रपुर ३ जेठ । भारतमा रेल यातायात सञ्चालनमा आएपछि सीमा क्षेत्रमा अलपत्र ८५३ जना नेपालीहरुले नेपाल प्रवेशका लागि नाम टिपाइसकेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार नाम टिपाउनेको संख्या निरन्तर बढिरहेको छ । प्रमुख जिल्ला अधिकारी रानाका अनुसार संकलित नाम मध्ये एकजना झापा, तीनसय ३२ जना कर्णाली प्रदेश र बाँकी अन्य जिल्लाका रहेका छन् ।
जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको बैठकमा उपस्थित प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरेर ल्याइने बताउनु भएको छ ।
मन्त्री कार्कीले उद्दार गरेर ल्याएपछि राख्ने होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ ।
स्वदेश फर्कने आशमा बसेका पूर्वी सीमावर्ती क्षेत्रमा प्रतिक्षारत नेपालीहरुको जेठ पाँचगतेदेखि उद्दार गर्ने निर्णयसंगै मन्त्री कार्कीले होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिनु भएको हो ।
झापा जिल्लाको काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा र कचनकबल नाकाबाट आगामी एक दुई दिनभित्रै एक हजार नेपालीलाई उद्धार गरेर सुरक्षित रुपमा नेपाल ल्याइने र क्रमशः यो सङ्ख्या बढेर २० हजारसम्म पुग्नसक्ने मन्त्री कार्कीको अनुमान छ ।
उहाँले नेपाल सरकार र भारत सरकारबीच यस विषयमा छलफल भइरहेको बताउँदै सीमा क्षेत्रमा रहेका आ–आफ्ना नागरिकलाई ल्याउने र लैजाने काम चाँडै हुने बताउनुभयो ।
गृह मन्त्रालय, पराराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेका जानकारी दिंदै ल्याइएका नागरिकलाई होल्डिङ एरियामा राखेर स्वास्थ्य परीक्षण गरिने र अन्य प्रदेशका भए सम्बन्धित प्रदेशको राजधानीसम्म पुर्याउने जिम्मा प्रदेश सरकारले लिने मन्त्री कार्कीले बताउनु भयो ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले काँकरभिट्टा नाकाबाट ल्याइने नेपालीहरुलाई मेचीनगरको काँकरभिट्टा माविमा र भद्रपुर र कचनकबलबाट ल्याइने मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर निर्माण गरिएको जानकारी दिनुभयो । प्रदेश नं. १ का उद्धार गरिएका नेपालीहरुलाई जिल्ला सदरमुकामसम्म र अन्य प्रदेशको हकमा प्रदेशको राजधानीसम्म पुर्याउने व्यवस्था मिलाउने निर्णय भएको जिसस प्रमुख पोर्तेलले बताउनु भयो ।

































































































