
झापा ३ जेठ । झापामा अब पसल खोल्नका लागि जोर विजोर प्रणाली लागु हुने भएको छ । यसअघि नियमित रुपमा खुल्दै आएका खाद्यान्न पसल जोर गतेमा मात्र खोल्न पाइने भएको छ । गैह्र खाद्यान्नका पसल विजोर गते खोल्ने निर्णय भएको छ ।
जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको शनिवार सम्पन्न पूर्ण बैठकले खाद्यान्न तथा गैह्र खाद्यान्नका पसल खोल्नेबारेको छलफलबाट जोर गते खाद्यान्न र विजोर गते गैह्र खाद्यान्नका पसल खोल्न दिने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
समन्वय समिति तथा अनुगमन समितिका संयोजक पोर्तेलको अध्यक्षता तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेरको उपस्थितिमा सम्पन्न बैठकले भारतमा अलपत्र नेपालीलाई जेठ ५ गतेबाट उद्दार गर्ने निणर्य गरेको संयोजक पोर्तेलले बताउनु भयो । उद्दार गरिएकाहरुको स्वास्थ्य परीक्षण पछि उनीहरुको स्थानीय पालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा राख्नुका साथै स्वास्थ्य अवस्था ठिक पाइएमा झापा बाहिरका प्रदेश १ का भए सम्बन्धित जिल्ला, प्रदेश तथा अन्य प्रदेशका भए सम्बन्धित प्रदेशलाई बुझाउने निर्णय भएको बताइएको छ ।
कृषि र औषधी पसल सधैं खुल्ला गर्ने निर्णय गरेको बैठकले कृषि सामग्री र नदीजन्य सामग्रीका बारे पनि निर्णय गरेको छ ।
बैठकले यसअघि अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनको प्रस्तुत प्रतिवेदन पारित गर्नुका साथै कार्यान्वयका लागि प्रदेश सरकार र संघीय सरकार समक्ष पठाउने निर्णय गरेको छ ।
झापामा सञ्चालित दुई अभियान एकका लागि एक र मेची अभियानलाई अब राहत वितरणमा नभई भारतबाट आउने नेपालीको व्यवस्थापनमा लाग्न अनुरोध गरिएको छ ।
झापाका १५ वटै स्थानीय तहमा रहेका बंैक तथा वित्तिय संस्था आधाआधा गरी दिन विराएर सञ्चालन गर्न पालिकाले व्यवस्था गर्ने, खाद्यन्न ढुवानीमा पास नचाहिने र निर्माण सामग्री ढुवानीमा स्थानीय तहले पास जारी गर्ने तथा सरकारी कर्मचारीलाई कार्यालय जान आउन पास नचाहिने बैठकले निर्णय गरेको छ ।
बैठकमा पूर्व सांसद तथा प्रदेश स्तरिय अनुगमन समितिका संयोजक देवराज घिमिरे, प्रदेश सांसद, समितिका सदस्यहरु सबै पालिकाका प्रमुख तथा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति सहितको उपस्थिति रहेको थियो ।

































































































