विर्तामोड १२ असार/ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालले १ नम्बर प्रदेश सरकारले सञ्चार क्षेत्रसंगै लिएर अघि बढ्न चाहेको बताउनु भयो ।
नारी सञ्चार गृह झापाको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सञ्चालित तीनदिने प्रदेशस्तरीय पत्रकारिता तालिमको उद्घाटन गर्दै १ नंं प्रदेशका मुख्य मन्त्रीको कार्यालयका मुख्य सचिव समेत रहनु भएका प्रमुख अतिथि रिजालले सरकारले पत्रकारहरुको आवश्यकताको पहिचान गरी सहयोग गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
सञ्चारसम्बन्धी कानून निर्माणका लागि सरोकारवालासंग भएको छलफल र आम सञ्चार नीति निर्माण सम्बन्धी बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि अध्ययन भइरहेको बताउनु भएको छ । मुख्य मन्त्री तथा कानून मन्त्री दुवै जना सञ्चारमैत्री भएको तथा कानूनको मन्त्रालयको सचिव आफू पनि स्वतन्त्र पत्रकारिताकाबारेमा जानकार रहेको उल्लेख गर्दै सचिव रिजालले सञ्चार सम्बन्धी कानून स्वतन्त्र पत्रकारिता भन्दा बाहिर नजाने धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारीले निष्ठाको पत्रकारिता आजको आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै महासचिव भण्डारीले देशको भेषभूषा, सामारिक महत्व, जैविक विविधता, मौलिक परम्परा जस्ता विषयमा कलम चलाउन नयाँ पुस्ताका पत्रकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका उपाध्यक्ष सोम सुसेलीले सञ्चार जगतकै बलबाट लोकतान्त्रिक गणतन्त्र स्थापना संभव भएको बताउँदै त्यही जगमा टेकेर निर्वाचित सरकारले संसदमा पेस गरेको मिडिया विधेयक हुबहु पास गर्न नसक्ने बताउनु भयो । विधेयक पेश हुँदैमा डराउनु पर्ने अवस्था नरहेको बताउँदै सञ्चार क्षेत्र बुझेकै व्यक्ति सञ्चार मन्त्री भएका कारण पनि विधेयक पास नहुनेमा उहाँको विश्वास थियो ।
विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले नगरपालिकाले सञ्चारक्षेत्र संगसंगै हिड्न चाहेको बताउँदै तेस्रो नगरसभाले केही नीतिगत व्यवस्था गरेको जानकारी दिनुभयो । पत्रकारिता क्षेत्रभित्र केही समस्या देखिएको बताउँदै आम नागरिकले विश्वास गरेको सञ्चार क्षेत्रको गरिमा र ओजलाई कायम राख्न सत्य र तथ्यको आधारमा रहेर समाचार पस्कन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरी, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारी झापाका सचिव प्रदिप परियार, आदिवासी जनजाति महासंघ (फोनिज)–का झापा अध्यक्ष विशाल नेम्वाङ लगायतले शुभकामना मन्तव्य राख्दै प्रदेश सरकारले सञ्चार सम्बन्धी कानून निर्माण गर्दा प्रेस स्वतन्त्रताका बारेमा सचेत हुन आग्रह गरे ।
नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको सञ्चालन सचिव रेजिना गौतम र स्वागत संस्थापक अध्यक्ष सावित्रा दाहालले गर्नुभएको थियो ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीका पत्रकारहरुको सहभागिता रहेको तालिमको पहिलो दिन चन्द्र भण्डारीले प्रशिक्षण दिनु भएको थियो भने दोस्रो र तेस्रो दिन चिन्तामणि दाहाल र मोहन मैनालीले प्रशिक्षण दिने सहसचिव स्वस्तिका आचार्यले जानकारी दिनुभयो ।

































































































