विर्तामोड १० असार/ होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकका लागि खाद्य स्वच्छता सम्बन्धी दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको आयोजनामा विर्तामोडमा सञ्चालित तालिम जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव निरीक्षक मोहनकुमार थापा, होेटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेती लगायतले मन्तव्य राखेका थिए ।

तालिममा खाद्य स्वच्छताबाट हुने फाइदा, स्वच्छता कायम गर्न अपनाउनु पर्ने सावधानी, मिसावटको पहिचान गर्ने तरिका लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।
३० जना बढीको सहभागीता रहेको तालिममा विरेन्द्र दास, भरत पुरीसहितको टोलीले सहजीकरण गरेका थिए । डिभिजन कार्यालय भद्रपुरका प्रमुख भरत पुरीको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रमको सञ्चालन सावित्रा दाहालले गर्नुभएको थियो ।
तालिममा खाद्य स्वच्छता मापन र अनुगमनका क्रममा यो वर्ष थ्रीस्टार मान्यता प्राप्त गर्न सफल थर्ड होम क्याफेका सञ्चालक राम तिवारीले खाद्य स्वच्छता कायमले व्यवसायमा पर्ने सफल प्रभावबारे अनुभव प्रस्तुत गरेका थिए ।

































































































