विराटनगर २६ बैशाख । विराटनगरस्थित कोशी अस्पतालमा उपचारत उदयपुरबाट ल्याइएका कोरोना भाइरस (कोभिड–१९) संक्रमति मध्ये ८ जनालाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज गरिएको छ ।
शुक्रबार प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उदयपुरको भुल्केबाट उपचारका लागि भर्ना गरिएका ८ जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो । मन्त्री घिमिरेका अनुसार शुक्रबार डिस्चार्ज हुनेमा ७ जना नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेका छन् ।
केन्द्रका अनुसार उदयपुरबाट कोरोना पुष्टि भएपछि वैशाख ८ र ९ गते ल्याइएका संक्रमित मध्ये १५ जनामा गरिएको स्वाब परीक्षणमा ८ जनामा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो ।
कोशी अस्पताल विराटनगरकी निमित्त मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राले डिस्चार्ज हुने ८ जनामा दुई पटकसम्म गरिएको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएको बताउनु भयो ।
कोरोना जितेर डिस्चार्ज हुनेमा विराटनगरका ७२ वर्षीया आइनो मियाँ, ६० वर्षीय इजरायल मियाँ, उदयपुरकी ५५ वर्षीया रौशन खातुन, ४१ वर्षीय मुख्तार मियाँ, २० वर्षीय आजाद आलम, १८ वर्षीय मो.इमरान अहमद, १८ वर्षीय परवेश आलम, र भारत दिल्लीका २४ वर्षीय मो.आदिल रहेका छन्। यसअघि कोभिड–१९ उपचार केन्द्रबाट ६ जना भारतीय नागरिक डिस्चार्ज भएका थिए ।
केन्द्रमा अब १७ जना उपचाररत रहेको डा. मिश्राले जानकारी दिनुभयो। डिस्चार्ज भएका ७ जना पुरुषलाई विराटनगर १५ को रानी मरकजमा राखिने र एक महिलालाई त्रियुगा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिने बताइएको छ ।
देशभर कोरोना जितेर घर फर्कनेको संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै केन्द्रमा पहिलो चरणको एक साताको कार्यपछि स्थानीय इष्टर्न स्टार होटेलको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्रालयले आजै बिदाई गरेको छ ।
डा. डेनप्रसाद आचार्यको नेतृत्वमा रहेको सो टोलीलाई विदाई गर्दै मन्त्री घिमिरेले अवश्यकता परेको खण्डमा पुन सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका थिए ।
संक्रमितको उपचारमा पहिलो ७ दिन कोभिड १९ उपचार केन्द्रमा खटिएको टोली १४ दिन क्वारेन्टाइनमा बसेको थियो। स्वास्थ्यर्मीमा गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।
कोरोना उपचारपछि घर फर्कनेको संख्या ३० पुग्यो

































































































