
झापा २६ बैशाख । कोरोना संक्रमण जोखिम भएसंगै भएको लकडाउनको मौका छोपेर झापाको विर्तामोडस्थित विर्तामोड–भद्रपुर रोडको ४ किलोमिटर सडक खण्ड निर्माण कार्यलाई तिब्रता दिइएको छ ।
सम्झौता अनुसार गत पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि त्यो असंभव भएसंगै पुन म्याद थप गरिएको थियो । थप गरिएको म्यादमा उक्त सडक खण्ड निर्माण कार्य सम्पन्न गर्नका लागि लकडाउनकै अवस्थामा पनि निरन्तर काम अघि बढाइरहेको सडक डिभिजन कार्यालय दमकका सब इन्जिनियर तथा विर्तामोड–भद्रपुर सडक हेर्ने प्राविधिक बृतप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘लकडाउन भएपनि काम द्रुत गतिमा अघि बढेको छ । लकडाउनले केही असर त गर्यो, केही दिन पर्खियौं । त्यस यता काम निरन्तर चलिरहेको छ ।’

सामान्य अवस्थामा मुख्य सडकमा ट्राफिकको ठूलो समस्या हुने भएकाले लकडाउन सामान्य हुँदासम्ममा मुक्तिचोकदेखि कम्तिमा विद्युत प्राधिकरणको गेट अगाडिसम्म कालोपत्रे बाहेक पूर्ण गर्ने उहाँले बताउनु भयो । लकडाउन र छिट्टै वर्षात भएका कारण थपिएको समयमा पनि काम सम्पन्न हुन नसक्ने सव इन्जिनियर यादवले बताए । उनले भने–‘लकडाउन र वर्षात दुवैले डिस्टर्व गरेको छ, यो वर्ष छिट्टैदेखि वर्षात भएकाले पनि समयमा काम सक्न समस्या हुने देखिएको छ, वर्षातमा कालोपत्रे हुँदैन ।’
२७ करोडमा काम सम्पन्न गर्ने ठेक्का सम्झौता विर्तामोड–भद्रपुर रोडको ४ किलोमिटर सडक खण्ड निर्माण सम्पन्न गर्न अझै केही समय थप्नुपर्ने यादवले बताउनु भयो । उनका अनुसार २०७६ साल पुस मसान्तसम्ममा काम सम्पन्न नभएपछि पुनः साउन २८ गते सम्ममा सम्पन्न गर्ने म्याद थप गरिएको थियो । तर कोरोना संक्रमण र वर्षातका कारण कालोपत्रे सम्पन्न गर्न कठिन रहेको यादवले जानकारी दिनुभयो।
यादवका अनुसार नेपाल विद्युत प्राधिकरण अनारमनी प्रशारण केन्द्रले बाटोमा रहेका झण्डै एकदर्जन विजुलीका पोल हटाइदिए लकडाउन अवधिमा विद्युत प्राधिकरणको कार्यालय अगाडिसम्म कालोपत्रे बाहेक अन्य काम सम्पन्न हुनेछ ।

































































































