
काठमाडौं १३ बैशाख । कोरोना भाइरसको अति उच्च जोखिमबाट नेपाल एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।
चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो।’
नेपालले समयमै लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’, उहाँले भन्नुभयो–‘त्यसैले नेपाल कोभिड–१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो।’ नेपालमा कोरोना संक्रमण फैलन नदिन २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको छ । परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।
सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ । कैलालीमा विदेशबाट आएकाबाट एकजनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड–१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ ।
अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् । यसैगरी कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेशनमा छन् । नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् ।

































































































