विर्तामोड १७ फागुन । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधनजस्तो गम्भिर विषयलाई कम्युनिष्ट पार्टीको आन्तरिक झगडा मिलाउने प्रयोजनमा दुरुपयोग नगर्न चेतावनी दिनुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को क्षेत्रीय सम्मेलनलाई विर्तामोडमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई इङ्गित गर्दै भन्नुभयो–‘हारेकालाई जिताउने गलत संस्कार बसाउन संविधान संशोधन गर्ने अधिकार कसले दियो ?’ निर्वाचनमा पराजय ब्यहोरेकाहरुलाइ आवधिक निर्वाचन नभएसम्म कुनै पदमा जाने हैसियत नभएको उहाँको भनाई थियो ।
संसदलाई जानकारी नै नदिई सरकारी जग्गा ब्यापारिक घरानालाई दिनसक्ने गरी वर्तमान प्रधानमन्त्री आफैंले नेपाल ट्रष्टको विनियम संशोधन गरेर यति होल्डिङलाई जग्गा दिएकोप्रति आपत्ति प्रकट गर्नुभएका नेता सिटौलाले भन्नुभयो–‘यो दोस्रो जनआन्दोलनमा गरेको प्रतिवद्धता विपरित छ ।’
तत्कालीन श्री ५ को सरकार मातहतमा रहेको जग्गा नेपाल ट्रष्टको नाममा ल्याउने र जनताको शिक्षा÷स्वास्थ्यका लागि सदुपयोग गर्ने गरी नेपाल ट्रष्टको विधेयक आफैंले ड्राफट गरेको जानकारी दिदै नेता सिटौलाले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो–‘नारायणहिटी राजदरवारसहित तत्कालीन राजसंस्थाको सम्पत्तिलाई जनहितमा प्रयोग गर्ने तपाइको प्रतिबद्धता कहाँ गयो ?’
संविधानको दुरुपयोग गरेर कम्युनिष्ट नेतृत्वको सरकार सर्वसत्ताबादतर्फ उन्मुख भएको बताउँदै नेता सिटौलाले पार्टीभित्रको वैचारिक, नेतृत्व र रणनीतिक विवाद टुङ्ग्याउँदै आन्तरिक संघर्ष समाप्त पारेर कम्युनिष्ट सत्ताका विरुद्ध संघर्ष गर्न तयार हुनुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि केशवकुमार बुढाथोकीले आफ्नै नेताको उछितो काढेर संगठन बलियो नहुने बताउँदै काम गर्ने क्रममा भएका गल्तीलाई आन्तरिक छलफलबाट टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
पार्टी महाधिवेशनमा प्रवेश गरिसकेको बताउँदै उहाँले राम्रो नेतृत्व छान्न र पुराना कार्यकर्ताको खोजी गरी अभिलेख राख्न आग्रह गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका सचेतक सरिता प्रसाईले कम्युनिष्ट नेतृत्वको सरकार जनभावना लत्याएर अधिनायकवादतर्फ उन्मुख भएको बताउनुभयो । एकपछि अर्को जनविरोधी विधेयक अधिनायकवादी यात्राको प्रारम्भ भएको बताउँदै उहाँले निर्वाचनमा कांग्रेस हारे पनि नीति, सिद्धान्त, विचार र दृष्टिकोणमा नहारेको दावी गर्नुभयो ।
यति होल्डिङलाई जग्गा दिने, युनिभर्सिटीका जग्गा लिजमा दिनेजस्ता निर्णयले सरकार नीतिगत भ्रष्टाचारमा लागेको प्रष्टिने बताउँदै उहाँले सरकारका गलत कामको भण्डाफोर गरेर जनतालाई जागरुक बनाउने बेला आएको धारणा राख्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले भ्रष्टाचाररत कम्युनिष्ट नेतृत्वको सरकाले देशलाई खोक्रो बनाएको टिप्पणी गर्नुभयो ।
संविधानसभा सदस्य तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीले सरकार एकदलीय तानाशाही ब्यवस्था लाद्न उद्यत रहेको बताउँदै लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको संगठन बलियो बनाउन युवाहरु सन्तुष्ट हुने नीति लिनुपर्नेमा जोड दिनुभयो ।
पूर्व सांसद डिल्ली सिटौलाले पार्टीलाई बलियो बनाउन नेतृत्वले दुई कदम अघि र पछि सर्न समेत तयार हुनुपर्ने बताउँदै सबैलाई मिलाएर लान सक्ने नेतृत्व महाधिवेशनमार्फत स्थापित गर्न सुझाव दिनुभयो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीले सांगठनिक अवस्था, भावी कार्यक्रम र कांग्रेसलाई बलियो बनाउन नेतृत्वले अवलम्बन गर्नुपर्ने आचरण समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत क्षेत्रीय सहसभापति धर्म लक्सम्बा र सञ्चालन सचिव किरण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा हजारौं कार्यकर्ताको सहभागिता रहेको थियो ।

































































































