झापा २८ माघ । ‘भूतो न भविष्य’ पेशागत व्यवसायिकता नभएपनि परिवर्तनका लागि सेवाभावले पत्रकारितामा गर्न कम चुनौति थिएन । त्यसमा प्रविधिको अभाव त छँदै थियो । तर, त्यसका बाबजुद पनि झण्डै चार दशकअघिदेखि निरन्तर पेशामा टिक्न सफल केशव आचार्य पत्रकारिताका जीवित इतिहास हुन् ।

व्यवस्था परिवर्तनका लागि तत्कालीन अवस्थामा प्रशासनबाट बच्नका लागि दृश्यमा शैक्षिक क्षेत्रमा संलग्न उनले लुकेर (छद्म नामबाट) समाचार सम्प्रेषण गरे । यो उनको पत्रकारिता जगतका लागि त्याग थियो । वर्तमानमा जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक रहेका उनलाई त्यही त्याग र तपस्याको सम्मान गर्दै मोफसलकै ठूलो गोपालचन्द्र गोतामे स्मृति प्रतिष्ठानले पुरस्कृत तथा सम्मानित गर्ने भएको छ ।
मोफसलमा रहेर पत्रकारिता क्षेत्रमा निरन्तर सेवारत पत्रकारलाई सम्मान प्रदान गर्ने प्रतिष्ठानको उद्देश्य अनुसार प्रधानसम्पादक आचार्यलाई एकतोला सुनको लकेटद्वारा पुरस्कृत गर्न लागिएको चन्द्रकिशोर झाले जानकारी दिए ।
२०११ साल बैशाख ८ गते पिता रंगलाल र माता पुण्यवता आचार्यका ज्येष्ठ सन्तानका रुपमा जन्मिएका आचार्यले २०३५/३६ सालदेखि साहित्यिक पत्रिकाका माध्यमबाट मिसन पत्रकारिता सुरु गरेका थिए । ताप्लेजुङको हाङपाङबाट २०२१ सालमा झापा झरेका आचार्यले २०३६ सालमा बैबाहिक जीवन शुरु गरे ।
विश्वदिप साहित्यिक मासिक पत्रिकाको प्रबन्ध निर्देशकका रुपमा २०३७ सालबाट संचारकर्ममा प्रवेश गरी झापाबाट प्रकाशित हुने शनिबार साप्ताहिक, पूर्वाञ्चल दैनिक, झापा एक्सप्रेस, आरम्भ एफएम, काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिक, सुरुची र स्वतन्त्रता साप्ताहिक तथा स्पेस टाइम दैनिकमा कार्यानुभव सम्हाली सकेका आचार्य हाल झापाबाट प्रकाशित हुने जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादकका रुपमा कार्यरत छन् ।
पत्रकारिता संगसंगै साहित्य सिर्जनामा रमाउने आचार्यका आचार–विचार मुक्तक संग्रह, केशव आचार्यका कविताहरु कविता संग्रह, पागल गजल संग्रह तथा पागल गजल एल्वम समेत सार्वजनिक भइरहेका छन् भने एकदर्जन बढी गीत तथा गजल संगीत भरेर प्रशारण समेत भएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाबाट २०६३ सालमा पुरस्कृत आचार्य सञ्चार क्लव मोरङ, नेपाल प्रेस युनियन पूर्वाञ्चलसहित नेपाल–भारतका विभिन्न पत्रकारिता, साहित्य र कला क्षेत्रका दुई दर्जनबढी साहित्यक संघसंस्थाबाट सम्मान र पुरस्कृत भइसकेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षको जिम्मेवारी सम्हालेका उनी नेपाल प्रेस युनियनमा, नेपाली साहित्य विकास समिति मेचीका अध्यक्षको जिम्मेवारीमा छन् भने सासंक प्रतिष्ठान, कृष्णभुषण बल स्मृति साहित्य प्रतिष्ठान मोरङ, साहित्य चौतारी, नेपाली लेखक संघ लगायतका साहित्यिक संघ–संस्थाहरुमा आवद्ध छन् । त्यसो त दर्जनबढी सामाजिक संघसंस्थाबाट पनि सम्मानित र पुरस्कृत भइसकेका छन् । पत्रकारिता, साहित्य र गीत–संगीतका अलावा पत्रकारितालाई निरन्तरता दिने क्रममा शैक्षिक क्षेत्रलाई रोजेका आचार्यले ९ वर्ष नायव सुब्बा र २२ वर्ष शिक्षण सेवापछि स्वेच्छिक अवकाश लिएर वर्तमानमा पत्रकारिता र साहित्यमा क्रियाशील छन् ।
उक्त सम्मान यही फागुन २ गते बीरगञ्जमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने झाले जानकारी दिए ।

































































































