Homeसमाचारछत बन्यो करेसाबारी

छत बन्यो करेसाबारी

झापा । भनिन्छ ‘मेहनत गर्न जाने श्रम ढुङ्गामा पनि फुल्छ’ , यो भनाईको सार्थकता खोज्न टाढा गइरहनु पर्दैन, विर्तामोड–५ पाथीभरा टोलका राजकुमार र गोमा राइको छतमा गए पुग्छ । फुल र तरकारी देखेपछि त्यतैतिर मन लगाइहाल्ने गोमाको रूचीलाई सार्थक पार्न राजकुमारले गरेको सहयोगले श्रम घरको छतमा फुलेको छ ।

जाँगर भए जुनसुकै काम पनि असम्भव रहेनछ भन्ने कुराको उदाहरण बनेका छन् राई दम्पती ।
घरको छतलाई नै करेसाबारी बनाएका उनीहरुको बारीमा ३० भन्दा बढी किसिमका तरकारी उत्पादन भइरहेका छन् ।
सानैदेखि फुल र तरकारीमा आफ्नो रुची भएको बताउँदै गोमाले भनिन्–‘करेसाबारीमा काम गर्न एकदमै रमाइलो लाग्छ, नयाँ ठाउँमा पुगेभने त्यहाँ कस्तो फुल छ, कस्तो तरकारी छ आँखा पुगिहाल्छ, आफूसंग नभएको देखें भने लिएर आइहाल्छु, किन्न पाउने र’छ भने किनेर ल्याउँछु ।’
विगतमा सिंगापुर बसेका राई दम्पत्तीमध्ये गोमाका श्रीमानले श्रीमतीको फुल र तरकारीप्रतिको मोह स्मरण गर्दै भने–‘यहाँमात्र कहाँ हो र, सिंगापुरबाट पनि फुल र तकारीको विऊ ल्याउँथिन् ।’ करेसाबारीमा आफूले भन्दा बढी मेहनत श्रीमतीले नै गर्ने गरेको उनले बताए । नारी मेहनती भएपनि बारी नभएपछि छतलाई नै करेसाबारी बनाएको बताउँदै राजकुमारले भने–‘नारी भएपछि बारी आफैं बन्दो रहेछ, नारी विनाको बारीको पनि काम छैन ।’
कौशी खेतिका लागि उनीहरु मलपनि आफैं उत्पादन गर्छन् । तरकारीका लागि मल घरैमा उत्पादन हुने गोमाले बताइन् । उनले भनिन्–मल हाम्रो किचनमा छ अनि यही करेसाबारीमा छ । किचनमा उत्पादन हुने फोहोर करेसाबारीमा खाएर बाँकी रहेको तरकारी तथा फुलको पत्ता नै मल हुन्छ ।’ उनले थपिन्–गर्न जान्यो भने जे पनि हुन्छ ।’


कौशीमा फलेको कोपी, काउली, टमाटर, रायो साग सिमी लगायत केहीको पनि पात खेर जान दिंदैनन् उनीहरु । त्यसैलाई संकलन गर्छन् र छतमै तरकारीका लागि आवश्यक मल पनि उत्पादन गर्छन् ।’ घरमा मल बनाउने तरिकाबारे बताउँदै राजकुमारले भने–‘सबै भेला गरेर मसिनोसंग काट्यो, त्यसमा माथिबाट अलि अलि माटो र भए गोबरमलले छोपेर केही दिन छोडिदियो एकदम राम्रो मल बन्छ ।’ मल बनाउनका लागि छतमै काटेको पत्ताको टुक्रा र छेवैमा राखेको माटोलाई देखाउँदै राजकुमारले भने–‘यो त्यसैका लागि हो ।’
राई दम्पत्तीका छतमा काउली, स्थानीय रायो साग, विभिन्न प्रकारका चाइनिज साग, धनियाँ, सिमसाग, पुदिना, कुरिलो, कागती, प्याज, सलगम, गाँजर, लप्सेसहित विभिन्न जातका टमाटर, पालक, बेथु, सिमीसहित अधिकांस तरकारीका जात बारीमा देख्न सकिन्छ । त्यसमा पनि तरेली तरेली अर्थात एकातिर खानयोग्य भइसकेको, अर्कोतिर बढ्दै गरेको, अर्कोतिर उम्रिदै गरेको दृश्य झन लोभलाग्दो छ । छतभरी, माछा राख्ने सेता कार्टुन, गमला र चाङसमेत बनाएर तरकारी लगाइएको छ ।

४÷५ जनाको परिवारलाई तरकारी किन्नु नपर्ने उनीहरुको अनुभव छ । त्यसो त किचनमा उत्पादित फोहोरलाई तरकारी उत्पादनमा लगाउँदा धेरै फाइदा हुने उनीहरु बताउँछन् ।कुहिने नकुहिने र शिशाजन्य फोहोर एकै ठाउँमा राख्यो भने फोहोर उठाउनेलाई पनि कति हैरान हुन्छ गोमाले भनिन्–‘तीनवटा डस्विन राखेर छुट्टयाइदियो भने त फोहोर उठाउनेलाई पनि सहज हुन्छ ।’कुहिने फोहोरलाई उत्पादनमा प्रयोग गर्ने हो भने कम्तिमा ७० प्रतिशत फोहोर व्यवस्थापन हुने उनको अनुभव छ ।
बजारमा आउने तरकारीमा विषादी छैन भने पनि विश्वास गर्नसक्ने अवस्था नरहेको बताउँदै राजकुमारले आफूले उत्पादन गरेको तरकारी त शुद्ध अग्र्यानिक हुने बताए । त्यसो त करेसाबारीमा काम गर्दा स्वास्थ्य पनि राम्रो हुने बताउँदै राजकुमारले भने–‘फिजिकल फिटनेसका दृष्टिले पनि यो ठिक छ, मर्निङ वाक गर्नै परेन, मर्निङवाक गर्ने समय तरकारीबारीमा दिए स्वस्थ्य तरकारी खान पाइयो । यसले आफ्नो र परिवारको स्वास्थ्य राम्रो हुनुका साथै मर्निङवाकमा हुने जोखिम कम हुन्छ, आर्थिक लाभ पनि हुन्छ ।’

दैनिक सरदर डेढ घण्टा समय करेसाबारीलाई दिए पर्याप्त हुने बताएका राई दम्पत्तीले आफूहरुले पढेर भन्दा पनि परेर अनुभव गरेको बताए । उनीहरुले भने–‘जन्मजात किसान, शहर केन्द्रीत बसाई भयो, हाम्रा बुबा–आमाले बाल्यकालमा दिएको कृषिको ज्ञान र हामीले जानेको सीपको फ्युजन हो यो करेसाबारी ।’
करेसाबारीलाई समय व्यवस्थापन खासै कठिन नरहेको गोमाले बताइन् । उनले भनिन्–‘फेसबुक र टिभीलाई दिने समय तरकारीमा लगाउँछु ।’
धेरै महिलाहरुले समय त्यत्तिकै खेर फालेको अनुभव बटुलेकी गोमाले भनिन्–धेरै महिलाले समय त्यत्तिकै खर फालेका हुन्छौं, शरीर सक्रिय बनाउन पनि परिश्रम गर्नुपर्ने हुन्छ ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारछत बन्यो करेसाबारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img