बिर्तामोड २५ माघ । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का उम्मेद्वार सरिता प्रसाईले नीति निर्माण गर्ने थलो प्रतिनिधिसभामा आफूले प्रतिनिधित्व गर्न पाएमा महिला सहभागिता ५० प्रतिशत पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल महिला संघ निर्वाचन प्रचार–प्रसार समिति क्षेत्र नं–२ को आयोजनामा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न २ नम्बर क्षेत्रस्तरीय महिला भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेतृ प्रसाईंले आफूले संविधानसभामा प्रतिनिधित्व गर्दा राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको नीतिगत ब्यवस्था पारित गरेको स्मरण गर्नुभयो ।
‘अब अवसर पाए नीतिगत रुपमै महिला सहभागिता ५० प्रतिशत पु¥याउन पहल गर्नेछु’–नेतृ प्रसाईले भन्नुभयो–‘महिलाले सहजै अधिकार प्राप्त गर्ने अवस्था छैन, नेतृत्वसँग खोसेरै लिनुपर्ने अवस्था अहिले पनि छ ।’ अन्य पार्टीको तुलनामा महिला अधिकार रक्षामा कांग्रेस अगाडि रहेको उहाँको भनाई थियो ।

अन्य जनप्रतिनिधिको तुलनामा आफ्नो क्षेत्रमा आफूले उल्लेख्य विकास निर्माणका कार्य गरेको दावी गर्दै उहाँले प्रत्यक्ष निर्वाचित भएमा नीति निर्माण र विकास निर्माण दुवै क्षेत्रमा काम गरेर देखाउने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेद्वार उमा शिवाकोटीले २००७ सालदेखि संविधान निर्माणसम्मका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताउँदै सबै दललाई एकैठाउँमा उभ्याउने तागत कांग्रेसमा मात्रै रहेको बताउनुभयो ।
देश संक्रमणकालीन अवस्थामा रहेको र जेनजी पुस्ताले खोजे अनुसार कांग्रेसमा युवा नेतृत्व आएको बताउँदै नेतृ शिवाकोटीले मुलुक र लोकतान्त्रिक ब्यवस्थालाई बचाइराख्न कांग्रेसलाई ठूलो शक्ति बनाउन आम मतदातामा अपिल गर्नुभयो ।
अर्का समानुपातिक उम्मेद्वार मनमाया विश्वकर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रुख चिन्हमा मतदान गरी लोकतान्त्रिक ब्यवस्थाको रक्षाका लागि कांग्रेसलाई ठूलो शक्ति बनाउन आग्रह गर्नुभयो ।
नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्मला गुरुङ, सिता ढकाल उप्रेती, यसोदा उप्रेतीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । सिता चुडाल सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रभा पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौला, सुधिरकुमार शिवाकोटी, सुरेश सुब्बा, तारामान गुरुङ, उमा शिवाकोटी लगायतलाई स्वागत गरिएको थियो ।



















