बिर्तामोड ९ माघ । बसन्त पञ्चमी विधाकी देवी सरस्वतीको आराधना तथा प्राथना गर्ने दिन। बिहानै देखि बिधार्थी तथा बालबालिकाहरू माता सरस्वतीको पुजा तथा आराधना गर्न घर नजिकैको मन्दिर एवं आफु अध्ययनरत बिधालय पुग्ने गर्दछन् । श्री पञ्चमीका दिन कापी किताबलाई सरस्वतीको प्रतिकका रूपमा बिधार्थीहरूले निष्ठापूर्वक पुजा गर्छन । बसन्त पञ्चमीका दिन बालबालिकालाई अक्षर लेखाउन शुभारम्भ गरिने ,नाक कान छेड्ने र विवाह, बेल विवाह, ब्रतबन्ध जस्ता शुभ कार्य गर्न साइत हेर्न नपर्ने जनविश्वास छ । सोही जनविश्वास अनुसार बसन्त पञ्चमीको अवसर पारेर बिर्तामोडमा सामुहिक बेल विवाह गरिएको छ ।
नेवार जातिको संस्था नेवा पासा मुना पुच : बिर्तामोडको आयोजनामा अर्जुनधारा ६ स्थित भिमसेन मन्दिरमा चार जना कन्याहरुको सामुहिक बेल विवाह गरिएको हो।
माई नगरपालिका १ दानाबारीका ९ बर्षिया सेरेन श्रेष्ठ, ४ बर्षिया नायरा श्रेष्ठ , अर्जुनधारा नगरपालिका ६ का ९ बर्षिया काम्या श्रेष्ठ र बिर्तामोड नगरपालिका ५ का ११ बर्षिया आरबिका श्रेष्ठको धार्मिक बिधि अनुसार गुवाजुबाट शुभ बेल विवाह कर्म गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो।
बेल विवाह नेवार जातिको महत्पूर्ण कर्म हो । यस कर्म अनुसार कुमारी कन्याको बेल संग विवाह गरिन्छ । सिन्दुर पोते हुन्छ । धार्मिक विधि अनुसार यो कर्म सम्पन्न गरिन्छ । बेल विवाह नेवार समुदायको सांस्कृतिक तथा धार्मिक परम्परा हो । बेललाई भगवान् विष्णुको प्रतीक मानिन्छ। जव सम्म उक्त बेल रहन्छ तब सम्म नेवार कन्या विधवा हुदैन भन्ने मान्यता पनि छ ।
बसन्त पञ्चमीको अवसर पारेर एक दशक अघि देखि हरेक बर्ष नेवाः पासा मुना पुचः ले बिर्तामोडमा सामुहिक बेल विवाह, ब्रतबन्ध कार्यक्रम आयोजना गर्दै आएको छ ।
सामुहिक रूपमा गरिने यस्ता कर्मले व्यक्तिगत झन्झट कम हुने, समयको बचत हुने, खर्च मितव्ययिता, जातीय एकता तथा भाईचाराको विकास र समाजमा सकरात्मक सन्देश प्रवाह हुने आयोजक संस्थाको अपेक्षा छ ।
जातीय मौलिक भाषा , खानपान, भेषभुषा संस्कार सस्कृतिको पहिचान,संरक्षण संवर्द्धन मुख्य उद्देश्य राखेर नेवाः पासा मुना पुचः ले स्थापना कालदेखि नै बिर्तामोडमा विभिन्न खालका कामहरु गर्दैआएको छ।
बसन्त पञ्चमीको अवसर पारेर सामुहिक बेल विवाह



















