बिर्तामोड ७ माघ । मन्दिर स्थापनाको प्रथम बार्षिकोत्सवको अवसरमा बिर्तामोड–५ स्थित गायत्री माता मन्दिरमा विविध कार्यक्रम गरिने भएको छ ।
मन्दिर संरक्षक समितिले बार्षिकोत्सवमा आयोजना गरिने कार्यक्रमबारे आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
बार्षिकोत्सवको अवसरमा मन्दिर निर्माण तथा संरक्षणमा सहयोग गर्ने दातालाई सम्मान, बिशेष पूजा अनुष्ठान, धार्मिक प्रवचन, भगवान संकिर्तन, संगीतमय भजन–किर्तनसहित सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ ।
प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालको टोली संगीतमय भजन प्रस्तुत गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रौनक बंशलले बताउनु भयो । बार्षिकोत्सवका लागि आसपासको क्षेत्र सरसफाई तथा बत्ती जडान, प्रसाद वितरणका लागि टेन्ट निर्माणलाई तीब्र बनाइएको छ । बार्षिकोत्सवमा उपस्थित भएर सोभा बढाइदिन भक्तजनलाई बंशलले आग्रह समेत गर्नुभएको छ ।
मन्दिर स्थापनाको श्रीपञ्चमी अर्थात माघ नौ गते वर्षदिन पूरा हुँदैछ । २०८० साल जेठ १७ गते मन्दिर निर्माण प्रारम्भ गरी २०८१ माघ २१ गते श्रीमपञ्चमीकै दिन समुद्घाटन गरिएसंगै भक्तजनहरुका लागि खुल्ला भएको थियो । लगभग दुईकरोड ५० लाख बढीको लगानीमा निर्माण गरिएको मन्दिर निर्माणमा व्यक्तिगत दाता, स्थानीय, प्रदेश तथा संघीय सरकारको समेत सहयोग रहेको बताइएको छ ।
पूर्वकै ठूलो गायत्री माताको मन्दिरका रुपमा रहेको उक्त मन्दिर धार्मिक पर्यटनका रुपमा विकसित भएको संरक्षक समितिले जनाएको छ । एकवर्षको अवधीमा २ लाख भन्दा बढीले मन्दिरको दर्शन र अवलोकन गरेको मन्दिर निर्माण समितिका संयोजक समेत रहेका बंशलले बताउनु भयो ।
गायत्री माताप्रतिको आस्था र विश्वासलाई अझ मजबुत बनाउँदै गायत्री माताको मन्दिरको माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने लक्ष्य राखिएको बताइएको छ ।
मन्दिर व्यवस्थापन समितिमा अध्यक्ष बंशल, संयोजक विवेक अग्रवाल, सहसंयोजक मनोज बजाज सहसचिव र राजेश अग्रवाल कोषाध्यक्ष रहेका छन् ।
मन्दिर सञ्चालन समितिकी सल्लाहकार स्वस्तिका आचार्यले सहजीकरण गरेको पत्रकार सम्मेलनमा सल्लाहकारहरु मेघराज बास्तोला, प्रशान्त भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड–५ स्थित गायत्री माता मन्दिरको बार्षिकोत्सवको तयारी



















