भद्रपुर २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि झापा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार उद्घाटन गरिएको छ ।
मुख्य कार्यालय संगसंगै ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यलयहरु स्थापना गरिएको छ । सोही क्रममा क्षेत्र न ३ को निर्वाचन समेत हेर्ने गरि जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यलयको मुख्य निर्वाचन अधिकृत झापा जिल्लाका मुख्य जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले मुख्य कार्यालयको उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्दै न्यायाधीश लुइँटेलले निर्वाचनलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलसहित सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले झापामा शान्ति सुरक्षाको व्यवस्था सामान्य रहेको बताउदै झापामा ४३ वटा मतदान स्थल सामान्य ,१ सय ४७ वटा संवेदनशील र ९५ वटा अति संवेदनशील मतदान स्थल रहेको जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरिने बताउदै स्वस्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन कठिबद्द रहेको बताउनु भयो । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले झापामा २८५ वटा मतदान स्थल तथा ८१५ मतदान केन्द्र रहेको जानकारी दिनुभयो । उहाँका अनुसार झापामा ५० हजार २२६ जना थप नयाँ मतदाता थपिएका छन् ।
जिल्ला प्रहरी कार्यलय प्रवक्ता खगेन्द्रबहादुर खड्काले निर्वाचनमा प्रहरी अपराध नियन्त्रणमा कठिबद्ध रहेको बताउदै धेरै जसो जेन्जी आन्दोलनमा लुटिएको हतियार बरामत गरिएको र भागेका कैदी बन्दीलाई नियन्त्रणमा लिइने कार्य जारी रहेको बताउनुभयो ।
मुख्य निर्वाचन कार्यालयसंगै पाँचवटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना



















