बिर्तामोड २६ पुस । नेवार समुदायको संस्था नेवाः पासा मुना पुचःको आयोजनामा ९ औं नेवाः फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ बिर्तामोडमा भैरहेको छ।
बिर्तामोड वन स्टप मल परिषरमा जारी ९ ओं नेवाः फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रमको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पानसमा दिप प्रज्वलन गरेर उदघाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर उपप्रमुख संग्रौलाले नेवार जातिको मौलिक संस्कार संस्कृति जगेर्ना गर्न भावी पुस्तालाई संस्कार सिकाउन नेवाः संस्था नेवाः पासा मुना पुचःले बिर्तामोडले संचालन गरेको कार्यक्रमहरूको प्रशंसा गर्नुभयो। मुलुकमा विद्यमान बिभिन्न जातजातिको भाषा मौलिक संस्कार संस्कृति जगेर्ना गर्ने कार्यमा तिनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिदै उहाँले स्थानीय सरकार बिर्तामोड नगरपालिका भौतिक र आर्थिक रूपमा नेवाः पासा मुना पुचःलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, रेडियो बिराटकी प्रवन्ध निर्देशक लिला अनमोल , संस्थाका पूर्व अध्यक्ष प्रमिस हलुवाई लगायतले शुभकामना मन्तव्य राख्दै नेवाः फुड फेस्टिवललाई अझ परिस्कृत गर्दै खुला तथा ठूला स्थानमा धेरै दिन सम्म संचालन गरिनुपर्नेमा जोड दिए।
नेवारी भाषा मौलिक संस्कार, खाना, भेषभुषा संरक्षण र सम्बर्द्धन, नेवारी खानाको परिकारको स्वाद सगै साँस्कृतिक कार्यक्रमको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हरेक बर्ष नेवाः पासा मुना पुचःले बिर्तामोडमा नेवाः फुड फेस्टिवल आयोजनाना गर्दै आएको छ । यस पटक आयोजना गरिएको ९ औं फुड फेस्टिवलमा ६ वटा स्टल राखिएको आयोजकले जनाएको छ ।
जस अनुसार नेवाः पासा मुना पुचः ले खुवाको यमरी, नेवाः मिसा पुचः ले यमरी खुवा तथा चाकु, सेल रोटी अचार, मयजु पुचःले प्लेन बारा, अण्डा बारा, अतिथि म म सेन्टरले छोयला ,कचेला, साफाले, बफ मम , झोल मम अन्यले, नेवारी खाजा सेट, मोमो, छोयला, चटामरी लगायतका नेवारी मौलिक परिकारको स्टल राखिएको छ।
संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजिव श्रेष्ठले पारेको थिए भने औचित्य माथि प्रकाश कार्यक्रम मुल संयोजक सचिन राज खड्गीले पार्नु भएको थियो । कार्यक्रम संचालन नेवाः मिसा पुचः अध्यक्ष निलम प्रधानले गर्नुभएको थियो।
कार्यक्रममा नेवाः समाज कल्याण गुठी भद्रपुर, नेवाः समाज पृथ्वी नगर, नेवाः पासा खल ः धरान, नेवाः समाज काँकडभिट्टा, नेवाः समाज इन्द्रपुर, नेवाः पासा मुना पुचः बाहुनडाँगी र आयोजक संस्था नेवाः पासा मुना पुचः बिर्तामोड लगायतले फरक फरक सांस्कृतिक प्रस्तुति दिईरहेका छन् । यसबेला कार्यक्रम स्थलमा नेवारी मौलिक खानाको परिकारको स्वाद सगै सांस्कृतिक कार्यक्रमको आनन्द लिने दर्शकहरुको भिड लागेको छ । बिहान १० बजे देखि शुरू भएको फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रममा साझ सात बजे सम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रम सम्पन्न गर्न सहयोगी संस्थाका रूपमा मेची आँखा अस्पताल, प्रभु बैंक, सिद्धि हाईड्रोपावर , बिर्तामोड खानेपानी ईन्द्रेणी व्याकेट लगायत २१ वटा संस्थाहरूको सहयोग रहेको बताईएको छ।



















