कनकाई १९ पुस । झापाको कनकाई नगरपालिका–४ स्थित माई खोलाको पुल छेउमा फेला परेको एक शंकास्पद ब्यागलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
पुष १८ गते राति पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत माई खोलाको पुल नजिकै एउटा कालो रङको झोला फेला परेको थियो। उक्त झोलाभित्र प्रेसर कुकरको बिड र कालो–रातो रङको तार देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उक्त क्षेत्रलाई सुरक्षित (सिल) गरेको थियो। सेनाद्वारा डिस्पोज शंकास्पद वस्तु भेटिएपछि आज बिहान ०७ः५० बजे अरिदमन गण चारआलीबाट सेनानीको कमाण्डमा बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। सेनाको टोलीले बिहान १०स्११ बजे उक्त ब्यागलाई सुरक्षित तवरले विस्फोट गराई डिस्पोज गरेको छ।
सेनाको डिस्पोजल टोलीका अनुसार उक्त प्रेसर कुकरभित्र विस्फोटक पदार्थ भने फेला परेन। तर, सोही ब्यागभित्र ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको ५ थान घोषणा पत्र तथा पर्चा–पम्प्लेटहरू फेला परेका छन्।
पर्चा भेटिएकाले त्रास फैलाउने उद्देश्यले कसैले सो वस्तु राखेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। डिस्पोजल पश्चात अहिले पूर्व–पश्चिम लोकमार्गमा यातायातका साधनहरू दुवैतर्फ सुचारु रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कनकाई पुलमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज



















