बिर्तामोड १८ पुस । सहकारीका लागि उर्वर क्षेत्र मानिएको झापामा जनसंख्या भन्दा सहकारीका सदस्य बढि रहेको तथ्य सार्वजनिक भएको छ । जिल्ला सहकारी संघले शुक्रबार संघको २९ औं बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा राष्ट्रिय जनगणना २०७८ को जनसंख्या भन्दा सहकारीका सदस्य बढी देखिएका छन् । संघको तथ्याङ्क अनुसार झापामा हाल सहकारीको सदस्य संख्या १० लाख ४७ हजार छसय ७० रहेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ मा झापामा नौ लाख ९९ हजार ५४ जनसंख्या रहेको छ । जनगणना अनुसार झापामा दुईलाख ४५ हजार एकसय ४२ घरधुरी रहेका छन् । झापामा बचत तथा ऋण, बहुउद्देश्यीय, दुग्ध, जडिबुटी लगायत वस्तुगत गरी प्रदेश तथा पालिका स्तरिय गरी सातसय ५९ वटा सहकारीहरु रहेका छन् ।
संघका अध्यक्ष प्रेमप्रसाद कोइरालाको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा सम्पन्न भएको हो । साधारणसभामा बोल्दै प्रमुख अतिथि गिरीले सहकारी क्षेत्रमा देखिएका विभिन्न प्रकृतिका चुनौतीको सामना गर्दै शेयर सदस्यहरूको बचत सुरक्षा र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनु भयो ।
कोइरालाले संस्थाको शेयरपूँजी तथा कारोवारको अवस्था, शेयर सदस्यको अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार गतआर्थिक वर्षको असार मसान्तसम्ममा संघको शेयरपूँजी कुल शेयर दश अर्ब उन्चास करोड पैंसठ्ठी लाख त्रिपन्न हजार आठ सय छयालीस रुपैयाँ उल्लेख गरिएको छ । सहकारी अभियान्ताहरु मिना ढकाल, हरिचरण बानियाँ लगायतले शुभकामना मन्तव्य राखेका थिए । बरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गर्नुभएको थियो ।
संस्थाको आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी ओझाले प्रस्तुत गर्नुभएको थियो ।
जनसंख्या भन्दा बढी शेयर सदस्य देखिनुमा दोहोरो सदस्यता रहेको बताइएको छ । जिल्लामा सञ्चालित ७५९ वटा सहकारी मध्ये जिल्ला सहकारी संघमा ४९३ वटा सहकारी आवद्ध रहेका छन् ।
झापामा जनसंख्या भन्दा धेरै सहकारीका सदस्य



















