बिर्तामोड १७ पुस । झापाका छुट्टाछुट्टै तीन स्थानमा जंगली हात्तीले घर भत्काउनुका साथै अन्नपातमा क्षति पुर्याएको छ। गएराति र आज बिहान गाउँ पसेका जंगली हात्तीले कमल गाउँपालिका, भद्रपुर र बिर्तामोड नगरपालिकाका स्थानीयको घर भत्काउनुका साथै अन्नपातमा क्षति पुर्याएको हो।
कमल गाउँपालिका ३, बगाने टोलमा पसेका ३ वटा जंगली हात्तीले स्थानीय गणेश बस्नेतको घरमा आंशिक क्षति पुर्याउनुका साथै घरभित्र भण्डारण गरिएको धान, मकैको पिठो, लत्ताकपडा, भाँडाकुँडा र खाट गरी लगभग एक लाख मूल्य बराबरको क्षति भएको छ।
यस्तै, भद्रपुर नगरपालिका ७, डाँफे चोकमा जंगली हात्तीले स्थानीय ऋषी भट्टराईको पक्की घरमा क्षति पुर्याउँदा लगभग २२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता बिर्तामोड नगरपालिका ८, किशनभिट्टाका टंक बरायलीको कच्ची घरमा आक्रमण लगभग ४५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
एकै रात झापाका तीन फरक ठाउँमा भएका यी घटनाबाट स्थानीय बासिन्दा त्रसित बनेका छन्।
उपद्रो मच्चाउँदै जंगली हात्ती, एकैदिन तीन ठाउँमा क्षति



















