Homeसमाचारमहिला हत्यामा घरेलु हतियार, आवेगको शिकार

महिला हत्यामा घरेलु हतियार, आवेगको शिकार

बिर्तामोड । पछिल्लो समय नेपालका विभिन्न जिल्लामा घटेका हत्याका घटनाहरूलाई विश्लेषण गर्दा महिलाहरू आफ्नै घरभित्रै सबैभन्दा बढी असुरक्षित रहेको देखिएको छ। हत्यामा प्रयोग गरिएका हतियारको प्रारुपले अपराधीको क्रुरता र आवेगलाई मात्र संकेत गर्दैन, बरु घर अथवा भान्साभित्रै उपलब्ध हुने वस्तुहरू कसरी ज्यानमारा हतियार बनिरहेका छन् भन्ने डरलाग्दो तथ्य उजागर हुन्छ ।
यहाँ पारिवारिक हत्या र हत्यामा प्रयोग गरिएका हतियारका केहि प्रतिकात्मक घटनाहरुलाई हेर्न सकिन्छ । महिला हत्यामा व्यावसायिक हतियारभन्दा पनि घरमा सहजै उपलब्ध हुने साधनहरूको प्रयोग बढी भएको पाइन्छ ।
पेट्रोल
तीन सन्तानकी आमा सिन्धुली कमलाधुरा–४ की शुशिला बम्जनको पेट्रोल खन्याएर आगो लगाई हत्या गरेको आरोपमा मृतककी सासु र नन्द प्रहरी नियन्त्रणमा छन् । घटनाबारे पहिले अस्विकार गरेकी शुशिलाकी नन्दलाई प्रहरीले पक्राऊ गरेपछि आफ्नो संलग्नता स्विकार गरिसकेका छन् । शुशिलाको हत्या गर्न उनकै श्रीमान्ले अह्राएको भन्ने पनि खुलासा भएको छ । शुशिला लामो मयदेखि घरेलु हिंसा खेप्दै आएकी थिइन् । जुनदिन उनको हत्या भयो त्यो दिनपनि उनले जीवनको भिख माग्दै आमालाई बचाउन फोनमार्फत आफूलाई गुहारेको शुशिलाकी आमाले पनि बताइसकेकी छन् ।
शुशिलामाथि पटक पटक हिंसा भएपनि उनलाई त्यही घरमा बस्न माइतीपक्षले प्रेरित गरिरह्यो । विवाह गरेको केही समयसम्म सन्तान नहुँदा सन्तान नभएको निहुँमा हिंसा खेपेकी शुशिलाको एकैपटक तिम्ल्याहा सन्तान जन्मिए । बच्चा बढेर स्कुल जान थालेपछि उनको हत्या गरियो । बच्चा भएपछि पनि घरेलु हिंसा रोकिएन । बच्चाको संरक्षण र हेरचाहका लागि पनि घरैमा बस्नुपर्ने भन्दै आमाले थुम्थुम्याइरहिन् । त्यो नै उनको काल बन्यो । २०८१ साल असोज २२ गते उदयपुरको बेलका नगरपालिका–८ का दानबहादुर राईले श्रीमती पूर्णकुमारी राईमाथि पेट्रोल खन्याइ आगो लगाए । घाइते पूर्णकुमारीको उपचारका क्रममा कात्तिक ६ गते मृत्यु भयो । हत्यामा पेट्रोलको प्रयोग गरिनुले अपराधीको योजनावद्ध क्रुरतालाई दर्शाउँछ। शरीरमा आगो लगाएर मारिने यस्ता घटनाले पीडितलाई असह्य पीडा दिने मनसाय देखिन्छ।
बन्चरो
– २०८१ कात्तिक १९ गते तनहुँको भानु नगरपालिका–८ गैरीफाँटका ओमनारायण श्रेष्ठले बन्चरो प्रहार गरी श्रीमती प्रतिक्षा श्रेष्ठको हत्या गरे ।
चिर्पट
– २०८२ साउन १२ गते सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाकी रबिना थापाको श्रीमान दानसिंह ठाडाले हत्या गरे । दानसिंहले चिर्पटले हानेर रबिनाको हत्या गरेका थिए । हत्यापछि आफैंले प्रहरीलाई फोन गरेर आफूले श्रीमतीको हत्या गरेको भन्दै पक्राऊ गर्न बोलाए । रविना र दानसिंहका तीन सन्तान छन् ।
यी ग्रामीण भेगका घरमा दाउरा काट्न प्रयोग गरिने सामान्य औजार हुन्। आवेगमा आएर नजिकै जे भेटिन्छ, त्यसैले प्रहार गर्ने प्रवृत्तिले देखाउँछ कि घरेलु झगडाले क्षणभरमै उग्र रूप लिने गरेको छ।
घाँटी थिचेर
२०८२ असार ७ गते रातको १२ बजे देवरले घाँटी थिचेर कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलासपुरकी तुलसी नाथको ज्यान लिए । १६ दिनकी सुत्केरी तुलसी सुतिरहेको अवस्थामा कोठामा प्रवेश गरी देवरले नाक, मुख र घाँटी च्यापेर मारेको घटना प्रहरीले सार्वजनिक गर्यो । तुलसी सुतेको ढोका बन्द नगरिएकोले देवरलाई पस्न सहज भएको बताइएको छ । तुलसीको हत्यापछि हत्यामा संलग्न देवरले लुकाएको गहगहना समेत प्रहरीले फेला पारेको थियो । यसले कुनै बाह्य हतियार बिना नै केवल शारीरिक बल प्रयोग गरेर हत्या गर्ने ुसाइलेन्टु तरिकालाई संकेत गर्छ। यस्ता घटनामा पीडितले प्रतिकार गर्ने मौका समेत पाउँदैनन्।
गोली
– २०८१ असोज १० गते सर्लाहीको हरिपुर्वा नगरपालिकामा श्रीमान्द्वारा श्रीमतीको हत्या गरे । श्रीमान्‌ले श्रीमतीको हत्या गर्न गोली प्रयोग गरेको घटनाले सुरक्षा संवेदनशीलतामा नयाँ प्रश्न उठाएको छ। तराईका जिल्लाहरूमा अवैध हतियारको पहुँच बढ्दै जाँदा घरभित्रका विवादहरू पनि अब गोली प्रहारसम्म पुग्न थालेका छन्, जुन समाजका लागि अत्यन्तै घातक संकेत हो।
यी ५ वटा प्रतिनिधि घटनाहरूलाई हेर्दा अधिकांश हत्यामा आफ्नै परिवारका सदस्यहरू (विशेष गरी श्रीमान्) संलग्न रहेको देखिन्छ। सामान्य घरायसी विवादमा आवेग नियन्त्रण गर्न नसक्दा र घरमै उपलब्ध सामग्री (चिर्पट, बन्चरो) लाई हतियार बनाउँदा महिलाहरूको ज्यान गइरहेको छ। यसले समाजमा बढ्दो असहिष्णुता र हिंसात्मक मनोविज्ञानलाई उजागर गर्छ। विश्वमा प्रत्येक १० मिनेटमा एकजना महिलाको नजिकैका व्यक्तिद्वारा हत्या हुने गरेको संयुक्त राष्ट्रसंघले तथ्याङ्क सार्वजनिक गरेको छ । ११७ देशबाट सङ्कलित तथ्याङ्कका आधारमा तयार प्रतिवेदन अनुसार दैनिक करिब १३७ महिला अर्थात् प्रत्येक १० मिनेटमा एक जना महिला हत्या अपराधको शिकार बनेको पाइएको होे ।
प्रतिवेदन अनुसार विश्वभर हत्या गरिएका महिलामध्ये लगभग ६० प्रतिशत आफ्नै आफन्त, नजिकका साथीहरु श्रीमान्, बुबा, काका, नन्द, सासु, दाजु–भाइबाटै हत्या भएको उल्लेख छ । हत्यामा श्रीमानकै प्रत्यक्ष संलग्नता देखिनुले महिला सुरक्षाको विषय गम्भिर चुनौति थपेको छ ।
केबल कानुन मात्र पर्याप्त छैन, घरभित्र हुने हिंसाको समयमै पहिचान र सामाजिक चेतना फैलाउनु नै यस्ता हत्याका घटना न्यूनीकरण गर्ने मुख्य उपाय हुन सक्छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिला हत्यामा घरेलु हतियार, आवेगको शिकार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img