बिर्तामोड पुष । महिला उद्यमीहरुको संस्था महिला उद्यमी संघ नेपाल झापाको १० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संघकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय झापाकी प्रमुख पुष्पलता उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले वित्तीय अनुशासन र उद्यमको पहिचान अत्यन्तै जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले महिलालाई लक्षित गरेर सरकारले ल्याएका सहुलियत सेवालाई महिलाका नाममा अरुले दुरुपयोग गरेको पाइएको बताउनु भयो ।
सहुलियत सुविधाको उपभोग अरुले नै गरेको बताउँदै कार्यक्रमका विशेष अतिथि सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख दिनेश पोखरेलले केही उद्यम गर्छौ भन्नेहरु विभिन्न प्रावधानका कारण बञ्चित भएको बताउनु भयो ।
एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख इन्द्रकुमार कट्टेलले सहुलियत ऋण सुविधा लिनेहरु नै बैंकको ब्ल्याक लिस्टमा परेको खुलासा गर्दै वित्तीय अनुशासनमा इमान्दार हुन सुझाउनु भयो ।
सो अवसरमा सताक्षी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठले उद्यममा लगानी गर्नेहरुका लागि ब्याजको दृष्टिकोणबाट अहिले सहज भएको धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्थानीय सरकारले अझै पनि महिलालाई उद्यममा उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याउन नसकेको बताउँनु भयो ।
संस्थाकी बरिष्ठ उपाध्यक्ष युनिता दवाडीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सहसचिव पुनम अधिकारीले गर्नुभएको थियो भने आयोजक संस्थाकी संस्थापक अध्यक्ष गोमा भट्टराई, निवर्तमान अध्यक्ष शुष्मा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघको नयाँ सदस्यता लिनेहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा संस्थाकी अध्यक्ष अधिकारीले नेतृत्वमा आएदेखि गरेका कार्यक्रम तथा गतिविधि र भावी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
महिला उद्यमी संघ नेपाल झापाको १० औं बार्षिक साधारणसभा सम्पन्न



















