बिर्तामोड पुष । जिल्ला प्रशासन कार्यालय झापाले अनाधिकृत बसोबास हुन सक्ने संकेत गर्दै सजग रहन झापाका ६ वटा पालिकालाई पत्राचार गरेको छ ।
भारतीय भूमीसंग सीमाना जोडिएका पालिकाहरुलाई प्रशासनले पत्राचार गर्दै नेपाल र भारतबीचको खुला सिमानाको फाइदा उठाई रोहिङ्गा लगायत तेस्रो मुलुकका नागरिकहरू भारतीय मार्ग हुँदै नेपाल प्रवेश गरी झापा जिल्लाका विभिन्न सार्वजनिक स्थान, खुला चौर, नदीका बगर एवं ऐलानी जग्गाहरूमा समूह बनाई बस्न सक्ने संभावनालाई मध्यनजर गर्दै सजग रहन सुझाउँदै पत्राचार गरेको हो ।

‘बाली लगाउने सिजन छ, गाउँघरमा मजदुरको अभाव छ, हिन्दी र बंगाली अलिअलि बोलिहाल्छन्, काम हामी गरिदिन्छौं भनेर पनि बसेको पाइएको छ, काममा लगाइराखिएको छ, आज काम गर्न बसेकाहरु भोली आपराधिक क्रियाकलापमा संलग्न भए भने के गर्ने ? भन्ने पनि छ, त्यसैले उनीहरुलाई कसरी कुन रुपमा लिने हो, कतै क्याम्प बनाएर राख्ने हो कि ?’–मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनालले बंगलादेशी रोहिङ्गा नेपाल छिर्ने र समुदायमा बसेको अवस्थाबारे चासो राख्दै भने, ‘क्याम्प बनाएर राख्नु पर्यो, छरिएर बस्न त दिनु भएन नी ।’
नेपाल–भारत खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय आधार कार्ड बोकेर बंगलादेशी रोहिङ्गा नेपाल आउने गरेको अनुगमनका क्रममा पाइएको बताउँदै खनालले भने, ‘नेपाल–भारत आवत–जावत खुल्ला छ, आधार कार्ड बोकेर आएका छन्, प्रशासनले रोक्न सक्ने आधार पनि केही छैन् ।’ झापाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल, प्रहरी प्रमुख राजन लिम्बू उपस्थित ७७ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बाँच्न पाउने अधिकार र अवैधानिक प्रवेशबारे सञ्जालले गरेको अनुगमन र देखिएको समस्याबारे प्रशासनलाई जानकारी गराएका थिए । झापाको पूर्वी सीमानाका काँकरभिट्टा भन्दा भद्रपुर नाकाबाट बढी रोहिङ्गा प्रवेश गर्ने गरेको खनालले खुलासा गर्दै दिन दिनै चुनौति बढ्दै गएको उनको भनाई छ ।
झापाका प्रमुख जिल्ला अधिकारी गेलालले नाकामा सुरक्षा सतर्कता अपनाइए पनि सबैले चनाखो हुनुपर्नेमा जोड दिए । गाउँ, घर, छरछिमेकमा नयाँ मान्छे आए तिनीहरुको निगरानी गर्न र प्रशासनलाई जानकारी दिन नागरिक समक्ष आग्रह गर्दै भने, ‘शान्ति सुरक्षा कायम राख्नु हाम्रो दायित्व हो, प्रहरी प्रशासन बर्दी लगाएको प्रहरी हो भने नागरिक बिना बर्दीका प्रहरी हुन् ।’ उनले थपे, ‘समाजमा शान्ति सुरक्षा कायम गर्नु सबैको दायित्व हो ।’यसैबीच जिल्ला प्रशासन कार्यालय झापाले सीमावर्ती भारतीय भूमीमा नाका जोडिएका ६ वटा पालिकालाई सजग रहन आग्रह गर्दै अनाधिकृत प्रवेश र बसोबास सम्बन्धमा सजगता अनाउने सम्बन्धमा भन्दै सूचना सार्वजनिक गरेको छ ।



















