भद्रपुर ९ मंसीर । ‘प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । नेपालसहित अन्तराष्ट्रिय रुपमै लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ ।
सोही अनुसार झापामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा मंगलबार अन्तरक्रिया सम्पन्न भएको हो ।
ंिहसा बढाउन प्रविधिको दुरुपयोग भएको निष्कर्ष निकालेको सरोकारहरुको अन्तरक्रियामा प्रविधिको माध्यमबाट भएका घटनाका तथ्यांकीय विवरणकाे अभावमा सार्थक बहस हुन नसकेकाे हाे । वास्तविक घटनालाई उदाहरण मान्ने आधार नहुँदा प्रविधिबाट भएका घटनाका प्रकृति र प्रवृत्तीबारे छलफल हुन नसकेकाे हाे । यद्यपि प्रविधि आफैंमा भेग भएकाे निष्कर्ष निकाल्दै सचेतता जरूरी रहेकाे अन्तरक्रियामा सहभागीले ओैल्याएका थिए । तथ्यांकीय विवरणकाे अभावमा जिल्लामा प्रविधिकाे माध्यमबाट भएका घटना, प्रकृति र प्रवृत्ति जाेडिएकाे नारा भन्दा घरेलु हिंसामा छलफल बढि केन्द्रीत भएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालको अध्यक्षता तथा राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै आयोगकी प्रवक्ता समेत रहेकी खतिवडाले प्रविधि प्रयोग गरेर कति हिंसा भए भन्ने कुराको अहिलेसम्म अनुसन्धान नै हुन नसकेको बताउनु भयो । प्रविधिबाट हुने हिंसाबारे रिसर्च गर्न जरुरी भएको बताउँदै सदस्य खतिवडाले त्यसलाई स्थानीय तहले गर्नुपर्ने बताउनु भयो ।
संघीयताको नाममा जिल्लामा भएका अरु संरचना यथावत रहेपनि महिला विकास कार्यालयलाई पालिकामा सिमित गर्दा महिलासम्बन्धीका धेरै कामहरु हुन नसकेको उहाँको भनाई थियो । जनताको नजिकको सरकार हुनु र स्रोत साधन पनि पालिकामा नै हुने भन्दै उहाँले प्रविधिबाट हुने हिंसाको अध्ययन, अनुसन्धान पालिकाले नै गर्नसक्ने भन्दै पालिकालाई जवाफदेहि बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले घरेलु हिंसामा महिला र पुरुष दुवैको संलग्नता देखिएको बताउँदै हिंसा अन्त्यका व्यक्ति स्वयंले आत्मसमिक्षा गरेर आफैंबाट सुधारको प्रारम्भ गर्नुपर्नेमा जोड दिनुभयो ।
झापाका प्रहरी प्रमुख राजन लिम्बूले एडभान्सका रुपमा आएको प्रविधिको दुरुपयोगले विभिन्न खाले हिंसा र अपराधका घटना भएपनि ती सबै अनसिन र जटिल भएको बताउँनु भयो । प्रविधिबारे बुझाउन प्रहरीले गरिरहेको प्रयासबारे प्रमुख लिम्बूले जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै लिम्बूले अभिभावकले बालबच्चा मैत्री हुनु जरुरी रहेको बताउँदै उनीहरुसंगै खाना खाने, आवश्यक कुराहरु शेयर गर्ने, मोवायलको दुरुपयोग भए त्यसबाट हुने कानूनी कारवाहीबारे जानकारी दिनु जरुरी रहेको बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रसाईले स्थानीय तहले नबुझेसम्म हिंसा न्यूनिकरण हुन नसक्ने बताउँदै मोवायल फोनको दुरुपयोग गर्दा हुने कानूनी कारवाहीका बारेमा पनि बुझाउन आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले हिंसा अन्त्य असंभव रहेको उल्लेख गर्दै दोषारोपण गर्नुभन्दा घरबाटै सुधारको शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । कोभिड संक्रमण कालमा निर्माण गरिएका सातै प्रदेशका होल्डिङ सेन्टरलाई हिंसामा परेकाका लागि सेफ हाउस बनाउन सकिने तर्फ ध्यानाकर्षण गराउँदै त्यसको पहलकदमी लिन आयोगकी सदस्यको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल काँकरभिट्टाका प्रतिनिधि, ओसिएमसीका प्रतिनिधि, मानव अधिकारका लागि महिला एकल महिलाकी कोशी उपाध्यक्ष रेखा अधिकारी, नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष विनिषा शर्मा, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, उपाध्यक्ष जोस्ना श्रेष्ठ, सहारा नेपालकी लीला शिवाकोटी, पत्रकार रेजिना गौतम, महिला बिर्तामोड नगरपालिकाकी महिला विकास शाखा प्रमुख पुष्पा कार्की, कनकाई नगरपालिकाकी टिका खतिवडा, जिल्ला प्रहरी कार्यालयकी साजना प्रसाई, माइती नेपालका प्रतिनिधि लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान: नारामा प्रविधि,बहसमा घरेलु हिंसा

































































































